राजनीति

गलत गर्ने जो सुकै भए पनि कारबाहीको दायरामा ल्याउनुपर्छः महामन्त्री थापा

Banner

भक्तपुर, माघ १३
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले देशमा गलत गर्ने जो सुकै भए पनि कारबाहीको दायरामा ल्याउनुपर्ने बताउनुभएको छ ।

भक्तपुरको बालकोटमा मीनकुमारी राणा प्रतिष्ठानले आज आयोजना गरेको प्रतिमा अनावरण कार्यक्रममा महामन्त्री थापाले गलत गर्ने व्यक्ति जति नै शक्तिशाली भए पनि कारबाहीको दायरामा ल्याउनुपर्नेमा जोड दिनुभयो । देशमा विधिको शासन कायम हुनुपर्ने तथा सबै क्षेत्रमा सुशासन कायम हुनुपर्नेमा जोड दिँदै उहाँले भन्नुभयो, “प्रत्येक दिन एउटा नयाँ काण्डका बारेमा चर्चा बाहिर आउँछ । जस्तोसुकै काण्ड आए पनि विधिको शासन हुनुपर्छ, खराब गर्ने मान्छे, गलत गर्ने मान्छे जुनसुकै जाति, धर्म र पार्टीको भए पनि कारबाही हुनुपर्छ । राष्ट्रपतिले गल्ती गरे पनि प्रधानमन्त्रीले गल्ती गरे पनि दण्ड पाउनुपर्छ । कानुनभन्दा माथि कोही छैन ।”

महामन्त्री थापाले गलत काण्ड गर्नेलाई यो वा त्यो बहानामा छोडिनु हुँदैन भन्दै यसो गरेमा मात्र विधिको शासन आउने, सुशासन कायम हुने तथा जनतामा विश्वास जाग्ने बताउनुभयो । उहाँले भन्नुभयो, “अब नेपालको एउटै मुद्दा हुनुपर्छ, जो प्रधानमन्त्री भए पनि प्रजातन्त्र जोगाउँछौँ । दायाँबायाँ हुन दिन्नौँ, यो व्यवस्था तलमाथि हुन दिन्नौँ । यो व्यवस्थाभित्र अब आत्मसम्मानका साथ जनताले गरिखानसक्ने अवस्था कसरी बनाउने भनेर लाग्नुपर्छ । यो कुरा देश चलाउने मान्छेले सोच्नुपर्छ, यसमै प्रतिस्पर्धा गर्नुपर्छ ।”

कांग्रेसले यतिखेर २०८४ भनेर होइन, काम गरेर देखाउनुपर्ने महामन्त्री थापाले बताउनुभयो । देश चलाउनेले अब जनताको आयस्तर कसरी उकास्ने र देशभरका बेरोजगारलाई रोजगार कसरी दिने भनेर लाग्नुपर्ने उहाँको भनाइ थियो ।

कार्यक्रममा भक्तपुर क्षेत्र नं २ का सङ्घीय सांसद दुर्लभ थापा, नेपाली कांग्रेसका केन्द्रीय सदस्य मदनकृष्ण श्रेष्ठ, पत्रकार हरिहर बिरहीलगायतले कांग्रेसले समय खेर नफाली जनताको मन जित्ने गरी काम गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा कांग्रेस महामन्त्री थापाले स्व मीनकुमारी राणाको प्रतिमा अनावरण गर्नुका साथै प्रजातन्त्र सेनानी तिलकप्रकाश कायस्थ, वरिष्ठ पत्रकार श्री आचार्य, बक्सिङ खेलाडी प्रचण्ड शर्मालाई पुरस्कार एवं सम्मान प्रदान गर्नुभयो । कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष कवीर राणा र महासचिव रवि राणाले आदर्श माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्नुभयो । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>