देश/प्रदेश

मेडिकल ड्रोनको ‘फाइनल स्ट्रक्चर’ निर्माणमा जुट्दै महावीरको आविष्कार केन्द्र

Banner

काठमाडौं, मंसिर ५-

महावीर पुन नेतृत्वको राष्ट्रिय आविष्कार केन्द्रले निर्माण गरेको ‘मेडिकल ड्रोन’ को सफल परीक्षणले उत्साह बढाएको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका, सर्लाहीको बागमती नगरपालिका, ललितपुरको भट्टेडाँडा र रामेछापको खाँडादेवी गाउँपालिकामा परीक्षण सफल भएपछि आविष्कार केन्द्र ‘फाइनल स्ट्रक्चर’ निर्माण चरणमा पुगेको हो ।

यो समाचार गोरखापत्र दैनिकमा छ, राष्ट्रिय आविष्कार केन्द्रका महानिर्देशक सञ्जय झाले यो ड्रोनमार्फत दुर्गम स्थानका स्वास्थ्य संस्थामा औषधी ढुवानी, महामारी फैलिएको अवस्थामा दिसा, पिसाब, रगतलगायत नमुना सङ्कलन गर्न सहज हुने जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “दुर्गम जिल्लामा औषधी र उपचार नपाएर धेरैको ज्यान जाने गरेको छ । मेडिकल ड्रोन निर्माणपछि सहज रूपमा औषधी ढुवानी र ल्याबका लागि नमुना सङ्कलन गर्न सहज हुने छ ।”

मेडिकल ड्रोन परीक्षण गर्दा तराईमा ४० किलोमिटर र पहाडमा १३ किलोमिटर दुरीसम्म एक किलो मेडिकल सामग्री पु¥याएर परीक्षण सफल भएको बताउँदै उहाँले अब धेरै सामान र लामो दुरीसम्म पु¥याउने गरी निर्माण गर्ने तयारी गरिएको उल्लेख गर्नुभयो । मेडिकल ड्रोन आविष्कारपछि विद्युत्, खाद्यान्न, लत्ताकपडा, अत्यावश्यक सामग्रीलगायत बोक्ने गरी आविष्कार गर्ने योजना बनाइएको छ ।

आविष्कार केन्द्रका इन्जिनियर आदर्श पोखरेलले ‘अटोनमस’ रिमोर्र्ट प्रयोग नगरी कम्प्युटर प्रविधिद्वारा मेडिकल ड्रोन उडाउने तयारी गरिएको जानकारी दिनुभयो । “अहिले प्रायः ड्रोन रिमोर्ट कन्ट्रोलद्वारा चलाइन्छ । रिमोर्टले नै कता जाने दिशा निर्धारण गर्छ,” उहाँले भन्नुभयो, “अब बन्ने मेडिकल ड्रोन अटोनमस कम्प्युटर सिस्टममा जोडेर सामग्री पठाउने र फिर्ता ल्याउने गरी मिलाइने छ ।” उहाँले मेडिकल सामग्रीको तौल र कति दुरीसम्म लैजान सकिन्छ भन्ने ब्याट्रीको ‘ब्याक’ लगायत फाइनल ड्रोनको स्ट्रक्चरले निर्धारण गर्ने उल्लेख गर्नुभयो ।

प्रायः ड्रोनका सामग्री विदेशबाटै आयात गर्नुपर्ने भएकाले तत्काल निर्माण गर्दा महँगो पर्ने उहाँले बताउनुभयो । २०७४ सालमा आविष्कार केन्द्र, स्वास्थ्य मन्त्रालय र नेपाल स्वास्थ्य अनुसन्धान परिषद्बिच दुर्गममा औषधी ढुवानी गर्न स्वचालित यन्त्र ‘मेडिकल ड्रोन’ सहित स्वास्थ्य उपकरण निर्माण गर्ने विषयमा सम्झौता भएको थियो ।

मेडिकल ड्रोनको काम सन् २०१८ देखि सुरु भएको इन्जिनियर दीपेन्द्र बस्नेतले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “हामीले काम थालेको सन् २०१८ देखि हो । बिचमा कोभिड भएपछि दुई वर्ष काम पूरै रोकियो । अहिले फाइनल स्ट्रक्चरमा काम भइरहेको छ ।” उक्त ड्रोन बनाउन अमेरिका र नेदरल्यान्डलगायत विदेशी प्राविधिकसहित इन्जिनियर बस्नेत, रोमन श्रेष्ठ, विवेक कार्की, उत्सव कार्कीलगायत नौ जनाभन्दा बढी प्राविधिक खटिएको उहाँले बताउनुभयो । परीक्षण उडान सफल भइसकेकाले व्यावसायिक प्रयोजनका लागि अन्तिम चरणको काम भइरहेको उहाँले बताउनुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>