देश/प्रदेश

जनशक्ति अभावले घरेलु उद्योग बन्द हुँदै

Banner

गलकोट (बागलुङ), मङ्सिर १-

जनशक्ति अभावले जिल्लाका घरेलु तथा साना उद्योग बन्द हुन थालेका छन् । गत आर्थिक वर्ष २०८०/८१ मा उद्योग दर्ता गर्नेभन्दा लगत कट्टा गर्नेको सङ्ख्या बढी देखिएको हो ।

बढ्दो बसाइँसराइ, शिक्षा तथा रोजगारीका लागि विदेश पलायनलगायत कारणले जनशक्ति अभाव भई जिल्लाका उद्योगहरू बन्द हुन थालेका जिल्लास्थित पर्यटन तथा उद्योग कार्यालयको तथ्याङ्कले देखाउँछ ।

गत आवमा ४६ उद्योग दर्ता भएका छन् भने ६७ उद्योगको लगत कट्टा गरेका कार्यालयका प्रमुख पारसिंह थापाले जानकारी दिनुभयो । उहाँका अनुसार गत आवमा सात उत्पादनमूलक, १५ कृषि तथा वनजन्य, छ पर्यटनसम्बन्धी उद्योग, १८ सेवामूलक गरी ४६ वटा उद्योग दर्ता भएका छन् ।

एक वर्षमै ६७ वटा उद्योगहरु भने बन्द भएको जानकारी थापाले दिनुभयो । उहाँका अनुसार उत्पादन मूलक ११, कृषि तथा वन जन्य १८ उद्योग, पर्यटनतर्फ १७ उद्योग, सेवामुलक २१ वटा उद्योगले लगत कट्टा गरेका छन् ।

“बसाइँसराइ र वैदेशिक रोजगारीको प्रभावले घरेलु तथा साना उद्योग बन्द हुनेक्रम बढेको हो । साथै अनुदान तथा आर्थिक गतिविधि देखाउन दर्ता गर्ने र पछि बन्द गर्नाले पनि उद्योगको सङ्ख्या घटेको हो”, प्रमुख थापाले भन्नुभयो, “वाणिज्यतर्फ फर्म दर्ता गर्ने बढी छन् ।”

एक सय चार फर्म दर्ता हुँदा ८८ को लगत कट्टा गरिएको उहाँले बताउनुभयो । उहाँका अनुसार अहिले पर्यटन तथा उद्योग कार्यालयमा तीन सय १८ उद्योग र चार सय ७२ वाणिज्यतर्फका फर्म नवीकरण भएका छन् । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>