देश/प्रदेश
प्रकाश भुजेलको लाइसेन्स यातायातको रेकर्डमा भेटियो
काठमाडौं, कात्तिक २९-
यातायात कार्यालयमा झाँक्री प्रकाश भुजेलको सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को रेकर्ड भेटिएको छ । प्रहरीमा उपस्थित भएका भुजेलले लाइसेन्स पेश नगरेपनि यातायात कार्यालयको रेकर्ड भेटिएको स्रोतले बताएको हो ।
‘उहाँले आत्मसमर्पण गर्नेबित्तिकै हामीले लाइसेन्स माग्यौं, तर यतिबेलासम्म पनि दिनुभएको छैन’, अनुसन्धानरत एक प्रहरीले बताए । भुजेलले खोज्दैछु, हेर्दैछु भन्दै आत्मसमर्पण गरेको २४ घण्टा पुग्न लाग्दासम्म पनि लाइसेन्स देखाउन नसकेपछि शंका उब्जिएको थियो । प्रहरी वृत्त बौद्धले उनको लाइसेन्सबारे यातायात व्यवस्था कार्यालयलाई पत्राचार गरेको छ । यातायात कार्यालय स्रोतले लाइसेन्सको रेकर्ड रहेको बतायो ।
भुजेलले चलाएको गाडीले बुधबार शंखरापुर नगरपालिका वडा नम्बर ९ इन्द्रायणीमा एउटा मोटरसाइकललाई ठक्कर दिएको थियो । ठक्कर दिँदा कागेश्वरी मनोहरा-२ आलापोट बस्ने ३८ वर्षीय नारायण नगरकोटीको मृत्यु भएको छ । उनको ग्राण्डी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । मृतक नगकोटी कागेश्वरी मनोहरा-२ आलापोट नेकपा माओवादी केन्द्रका सचिव हुन् । दुर्घटनामा उनलाई टाउको, पेट र घुँडामा गम्भीर चोट लागेको थियो । दुर्घटनापछि झाँक्री आफै प्रहरीमा उपस्थित भएका थिए ।