समाचार

मुक्त हलियालाई दसैँ खर्च जुटाउनकै पिरलो

Banner

कञ्चनपुर, असोज २४-

शुक्लाफाँटा नगरपालिका–६ कसरौलका ५० वर्षीय दामोदर दमाईलाई दसैँ खर्च जुटाउने पिरलो छ । चाड पर्वमा मिठो मसिनो खाने, नयाँ लुगा लगाउने रहर भए पनि दमाई परिवार खर्च जुटाउन नसक्दा अन्योलमा रहेका छन् ।

तीन पुस्ता हलिया बसेका दामोदर सडक छेउमा रहेको सानो झोपडीमा बस्दै आउनुभएको छ । उहाँ झोपडीकै एक कोठामा सिलाई मेसिन राखेर ग्राहकका पुराना लुगाफाँटा सिउने काम गर्दै आउनुभएको छ । गतिलो सीप नहुँदा नयाँ लुगा सिउनेहरूमध्ये थोरै मात्र उहाँ कहाँ पुग्छन् ।

महिनामा हुने दुई चार हजार कमाइले घरको नुन, तेल, चालमल, पिठो, दालको जोहो मिलाउन दमाई परिवारलाई धौधौ पर्छ । कमाई नभएका बेला भोक भोकै झोपडीमा पानी मात्रै पिएर बस्नु परेको पीडा उहाँसँग रहेको छ ।

दामोदरका बुवा बाजे दार्चुलाको बस्कोटमा फुसर्दको बेला निश्चित अन्न लिएर कपडा सिउने ९खलो प्रथा० मा काम गर्नुहुन्थ्यो । आफ्नो स्वामित्वको जग्गा थिएन । त्यसले परिवारको गुजारा चल्न नसकेपछि दमाइका बुवा बाजेले गाउँका मुखियाको घरमा हलिया बसेर काम गर्नुभएको थियो ।

पहाडमा बसेर जीविका चलाउन गाह्रो हुन थालेपछि दामोदर बुवासँगै विसं २०३६ सालमा सहज जीविनयापनको खोजीमा तराई झर्नुभयो । “कञ्चनपुरका धेरै ठाउँमा बस्यौँ”, उहाँले भन्नुभयो, “कुनै ठाउँमा पनि स्थायीरूपले बस्न पाएनौँ, जहाँ बस्न खोज्थ्यौँ, त्यहाँबाट कतै वनको जग्गा त कतै दलित भनेर हटाइन्थ्यो ।” स्थायीरूपमा बस्नका लागि जग्गा खरिद गर्ने सामर्थ नहुँदा घुमन्तेरूपमा जीवन बिताउनुपर्ने बाध्यता रहेको उहाँ सुनाउनुहुन्छ ।

कमाई गर्ने एक मात्रै साधन हातले चलाउने सिलाई मेसिन मात्रै थियो । “मेसिनले कपडा सिउँदा आउने खलो (निश्चित अन्न)ले जीविका चल्थ्यो”, उहाँले भन्नुभयो, “जिउ ढाक्ने लुगाफाटो अरुसँग माग्नुपर्ने हुन्थ्यो ।” विसं २०६५को भदौमा हलिया मुक्तिको घोषणासँगै खलो प्रथाको पनि अन्त्य भयो । त्यसपछि हाते सिलाई गर्ने मेसिन चलाएर दमाई परिवारले जीविका चलाउँदै आएका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>