चितवन विशेष

कृष्णभीरमा नयाँ ट्याक परीक्षण सफल

Banner

नारायणगढ (चितवन), भदौ २८–

पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा पहिरो खसेर सडक पूर्णरूपमा अवरुद्ध भएपछि निर्माण गरिएको नयाँ सडक ट्याकको आज सफल परीक्षण गरिएको छ ।

नागढुङ्गा–मुग्लिन सडक योजना (पश्चिम खण्ड) का सूचना अधिकारी इञ्जिनियर सचेन्द्र मिश्रका अनुसार नयाँ ट्याकको ग्रेडिङ सम्पन्न भएपछि पहिलो चरणमा खाली ग्यास बुलेट सञ्चालन गरेर परीक्षण गरिएको थियो । परीक्षण सफल भएपछि क्रमशः अन्य सवारीसाधन सञ्चालन गराइएको उहाँले जानकारी दिनुभयो । उहाँले निरन्तर काम गरेर आज नयाँ ट्याकबाट सवारीसाधन सञ्चालन गराउन सफल भएको बताउनुभयो ।

कार्यस्थलमा खटिनुभएका सहायक आवासीय इञ्जिनियर अशोक देवकोटाले सुरुमा खाली ग्यास बुलेट दुवैतर्फ पठाएर परीक्षण गरिएको र सफल भएपछि पालैपालो अन्य सवारीसाधन पास गराइएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “सुरुमा खाली ग्यास बुलेट पठायौँ । त्यो परीक्षण सफल भएपछि क्रमशः पालैपालो दुवैतर्फ सवारीसाधन पास गराएका हौँ ।” उहाँले नयाँ ट्याकबाट करिब ५० वटा सवारीसाधन सञ्चालन गराइसकिएको जानकारी दिनुभयो । उहाँका अनुसार आज परीक्षणका लागि मात्रै नयाँ ट्याकबाट सवारीसाधन सञ्चालन गरिएको हो । निरन्तर भित्ता काटेर निर्माण गरिएको नयाँ ट्याकको ग्रेडिङ सम्पन्न भएपछि परीक्षण गरिएको उहाँले बताउनुभयो ।

इञ्जिनियर देवकोटाका अनुसार भोलिदेखि उक्त स्थानमा ग्राभेल बिछ्याउने काम सुरु गरिनेछ । त्यससँगै नाली निर्माण, पानी सोस्ने तथा तर्काउने व्यवस्था मिलाउने र सडकमाथि देखिएका चिरा पुर्ने काम पनि अघि बढाइनेछ । उहाँले थप्नुभयो, “थप समस्या नआएमा तीन दिनभित्र यी काम सकाएर नियमित रूपमा सवारीसाधन सञ्चालन गर्ने लक्ष्य छ । ”

सूचना अधिकारी मिश्रका अनुसार नयाँ ट्याक करिब २५२ मिटर लामो छ । सडकको चौडाइ सात मिटर र नाली एक मिटर चौडा रहेको छ । पुरानो भासिएको सडक भएको स्थानबाट नयाँ ट्याक पाँचदेखि १० मिटरसम्मको उचाइमा छ । उहाँले भन्नुभयो, “अहिलेसम्म कामका क्रममा थप समस्या देखिएको छैन । मौसमले साथ दिएमा र थप समस्या केही नआएमा तीन–चार दिनभित्र आवश्यक काम सम्पन्न गरेर नियमित रूपमा सवारीसाधन सञ्चालन गर्ने योजना छ । ”

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>