समाचार
देशभर मनसुनी वायुको प्रभाव कायमै, आज पाँचवटा प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं,भदौ २७-
देशका केही स्थानमा आज भारी वर्षाको सम्भावना छ। दिउँसो र राति नै भारी वर्षाको सम्भावना रहेको हो। जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोसी र वाग्मती प्रदेशको हिमाली र पहाडी भूभाग तथा गण्डकी र कर्णाली प्रदेशको पहाडी क्षेत्रका साथै लुम्बिनी प्रदेशको तराई भूभागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ। राति कोसी प्रदेशको तराई भूभागका एकदुई स्थानमा भारी वर्षाको पूर्वानुमान छ।
विभागले दिउँसो देशभर साधारणतया बादल लाग्ने बताएको छ। हिमाली भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ। पहाडी भूभागका धेरै स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना छ। कोसी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थानमा र मधेस प्रदेश तथा वाग्मती र गण्डकी प्रदेशका तराईका थोरै स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना छ।
विभागले राति देशभर साधारणतया बादल लाग्ने प्रस्ट पारेको छ। कोसी, वाग्मती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका केही स्थानमा तथा लुुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भूभागका थोरै स्थानमा मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ।
तराई भूभागका थोरै स्थानमा मध्यमसम्म वर्षाको सम्भावना छ। हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यूनचापीय रेखा सरदर स्थानकै आसपास रहेको विभागले बताएको छ।
























