समाचार
नारायणगढ–बुटवल सडक विस्तारको काम ठप्प

नवलपुर, असोज २२-
पूर्व–पश्चिम राजमार्गको नारायणगढ–बुटवल सडकखण्ड विस्तारको काम यतिबेला ठप्प छ । विस्तारको काम रोकिएपछि पूर्वी नवलपरासीको गैंडाकोट नगरपालिका वडा नम्बर ५ मा पर्ने सडक क्षेत्रका खाल्डामा धान फलेको देखिन्छ । गत असारदेखि नै नारायणगढ–बुटवल सडकखण्ड विस्तारको काम रोकिएको छ । नेपालीहरुका प्रमुख चाड दशैं–तिहारका बेलामा पनि साँघुरो र खाल्डाखुल्डी सडकमा जोखिम मोलेर यात्रा गर्नुपर्ने बाध्यता छ ।
ठाउँ ठाउँमा ठेकेदारले बनाउनका लागि भनेर सडक भत्काएर छाडेको छ तर नबनाउँदा झनै हैरानी, सास्ती र घण्टौ जाममा बस्नुपर्छ । केही दिन अगाडि मात्रै दाउन्नेमा सडक भासिँदा तीन दिनसम्म जाम सहनुपरेको थियो । एसियाली विकास बैंक (एडीबी) को ऋण सहयोगमा नारायणगढ–बुटवल सडकखण्ड विस्तारको कामको सम्झौता २०७५ साल चैत ८ गते भएको थियो । ११३ किलोमिटर लामो यो सडकखण्डलाई चाँडै काम सक्न भन्दै दुई खण्डमा विभाजन गरेर अलग–अलग ठेक्का लगाइएको थियो । दुवै खण्ड निर्माणको ठेक्का चिनियाँ कम्पनी ‘चाइना स्टेट कन्स्ट्रक्सन’ ले पाएको छ ।
सडक विस्तारको काम सक्ने समय २०७९ साउन २२ गते थियो । तर त्यसको थप दुई वर्ष नाघिसक्दा पनि सडक विस्तारको कामको प्रगति दुवैतिर गरेर ५२ प्रतिशत हाराहारीमा छ । पूर्वी खण्ड भनिने गैंडाकोट–दाउन्ने ६४।४२ किलोमिटर र पश्चिम खण्ड भनिने दाउन्ने–बुटबल ४८दशमलव ५८ किलोमिटर सडक १६ अर्ब ९९ करोड ५२ लाख ९६ हजारमा ठेक्का सम्झौता भएको थियो । चाइना स्टेट कन्स्ट्रक्सनले गैंडाकोट–दाउन्ने सडकखण्डको लागत ९ अर्ब १३ करोड १८ लाख ९५ हजार र दाउन्ने–बुटवल खण्डको लागत ७ अर्ब ८६ करोड ३४ लाख रुपैयाँमा ठेक्का लिएको हो ।
सरकारले यो सडकखण्डको ठेक्काको म्याद २०७९ भदौमा पहिलोपटक, २०८० साउनमा दोस्रोपटक र २०८१ साउनमा तेस्रोपटक म्याद थप गरिएको छ । तेस्रो पटक थपिएको म्यादअनुसार २०८२ साउन ८ सम्म काम सकिसक्नुपर्ने छ तर काम भने आधा बाँकी छ ।
तेस्रोपटक म्याद थप गरिएको २ महिना सकिँदा दुवै खण्डमा काम ठप्प छ । पूर्वी खण्डमा यो बीचमा डेढ किलोमिटर सडक कालोपत्रे गरिएको आयोजना प्रमुख अनुक्षा घिमिरे बताउँछिन् । उनले सामान्य बिग्रेको सडक मर्मतभन्दा बाहेक अरु काम नभएको बताइन् ।
पश्चिम खण्डमा असार पछि नै काम ठप्प भएको आयोजना प्रमुख शशांक मिश्रले बताए । उनका अनुसार ठेकेदार कम्पनीले दशैं–तिहार पछि मात्रै काम गर्ने जनाएको छ ।
दाउन्नेमा भासिएको सडक मर्मत तथा अन्य ठाउँमा सडक मर्मत बाहेक अरू ठोस काम तीन महिनाको अवधिमा नभएको मिश्रले जनाए ।
























