खेलकुद
टी–२० विश्वकप : नेपाल नेदरल्यान्ड्ससँग ६ विकेटले पराजित

काठमाडौं, जेठ २३-
आइसिसी टी–२० विश्वकप २०२४ अन्तर्गत आफ्नो पहिलो खेलमा खराब ब्याटिङ गर्दा नेपाल पराजित भएको छ। अमेरिकाको टेक्सासको डालासस्थित ग्रान्ड प्रिएरी क्रिकेट रंगशालामा गएराति नेपालले नेदरल्यान्ड्ससँग ६ विकेटको हार बेहोरेकाे हाे।
नेपालले दिएको १०७ रनको लक्ष्य नेदरल्यान्ड्सले १८.४ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्यो।
नेदरल्यान्ड्सका लागि ओपनिङ ब्याटर म्याक्स ओडाउडले अर्धशतक प्रहार गरे। उनले नटआउट ५४ रन प्रहार गर्ने क्रममा ४८ बलमा ४ चौका र १ छक्का प्रहार गरे।
त्यसअघि अर्का ओपनर माइकल लेभिटलाई सोमपाल कामीले दोस्रो ओभरमा १ रनमै आउट गरेका थिए। त्यसपछि दीपेन्द्रसिंह ऐरीले विक्रमजित सिंहलाई नवौं ओभरमा २२ रनमा एलबिडब्लूको धरापमा पारेका थिए।
साइब्रड एन्गेलब्रेचलाई सोमपाल कामीले १४ रनमा आउट रनआउट गर्दा अभिनास बोहराले कप्तान स्कट इडवार्डलाई ५ रनमा बोल्ड गरे।
खेलमा नेपालका कप्तान रोहित पौडेलले १८औं ओभरमा ओडाउडको क्याच मिस गरेका थिए। त्यतिबेला उनी ४१ रन बनाएर खेलिरहेका थिए।
बलिङमा नेपालका सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी र अभिनास बोहराले १–१ विकेट लिए।