Breaking News
एशियन गेम्स क्रिकेटः क्वाटरफाइनलमा नेपाल र श्रीलंका भिड्ने

काठमाडौँ, असोज १०–
जापानमा जारी २०औं एशियन गेम्स पुरुष क्रिकेट अन्तरगत क्वाटरफाइनलमा नेपालले टेस्ट राष्ट्र श्रीलंकासंग भिड्ने भएको छ ।
आज भएको नेपाल र घरेलु टोली जापानबीचको खेल वर्षाले रद्द भएपछि नेपाल समूह ‘ए’को विजेताको रुपमा क्वाटरफाइनलमा प्रवेश गरेको हो । ३ अंकसहित समूह ‘ए’ को विजेता बनेको नेपाल श्रीलंकासंग भिड्दै छ भने उपविजेता बनेको अफगानिस्तान भारतसंग भिड्ने छ । यस्तै समूह ‘बी’को विजेता र उपविजेता भने पाकिस्तान र बंगलादेशसंग प्रतिस्पर्धा गर्नेछ । समूह चरणको अन्तिम खेलमा नेपाल र जापान बीचको खेल वर्षाले स्थगित गरिएको थियो ।
निरन्तर वर्षाले १५ ओभरको दोस्रो इनिङ सुरु हुन नसकेपछि खेल रद्द गरिएको हो । योसंगै दुवै टिमले समान एक–एक अंक बाडेका छन् । अफगानिस्तानविरुद्ध नेपाल विजयी भएकाले ३ अंकसहित नेपाल समूह ‘ए’को विजेता बन्यो । अफगानिस्तान समूह उपविजेता बन्दै क्वाटरफाइनलमा स्थान बनायो । अफगानिस्तानले जापानलाई पहिलो खेलमा हराएको थियो । जापानको एक अंक मात्रै रहदै पुछारमा रह्यो । एउटा समूहबाट दुई टिम क्वाटरफाइनलमा प्रवेश गर्ने प्रावधान रहेको थियो ।
आज वर्षाले प्रभावित बनेको खेल १५ ओभरमा घटाइएको थियो । सोही अनुरुप टस हारेर नेपाल पहिलो ब्याटिङ गरेको थियो । सुन्दीप जोरा र लोकेश बमको बिष्फोटक पारीमा जापानलाई १५० रनको चुनौतिपूर्ण लक्ष्य पेश गरेको थियो । निर्धारित १५ ओभरमा मात्र ४ विकेट गुमाउँदै नेपालले १४९ रन बनायो । अन्तिम बलमा छक्का प्रहार गर्दै लोकेश बमले करिअरकै पहिलो अविजित अर्धशतक समेत बनाए । २२ बल खेलेका बमले ६ छक्का र एक चौका प्रहार गरे । सुन्दीप जोराले ३२ बलमा ५ चौका र ६ छक्का प्रहार गर्दै ५७ रनमा अविजित रहे । आशिफ शेख २१ रनमा आउट भए भने कुशल भुर्तेल ४, कुशल मल्ल र गुल्शन झा समान २–२ रनमा आउट भए ।
जापनका लागि रेओ साकुरानो–थोमस, इब्राहिम ताकाहाशी, जेक कुसुदा–नायर्न र डेक्लान सुजुकीले समान एक–एक विकेट लिए ।






















