देश/प्रदेश
बाढी र पहिरोका कारण गुल्मीमा ११ परिवार विस्थापित

गुल्मी, असोज १० –
अविरल वर्षासँगै आएको बाढी, पहिरो र हावाहुरीका कारण गुल्मीमा ११ परिवार विस्थापित भएका छन् भने गोठ भत्किँदा तीन पशुचौपाया मरेका छन् ।
बाढी तथा पहिरोको जोखिममा परेका, घरको छानोमा क्षति पुगेका प्रभावित परिवारलाई प्रहरी तथा स्थानीयको सहयोगमा सुरक्षित स्थानमा सारिएको जिल्ला प्रहरी कायालय गुल्मीका सुभना अधिकारी एवं प्रहरी नायब उपरीक्षक वीरेन्द्रवीर विश्वकर्माले जानकारी दिनुभयो ।
रुरुक्षेत्र गाउँपालिका-१ रिडीस्थित लामाचौपारी क्षेत्रमा कालीगण्डकी नदीको बहाव बढेपछि नदी किनारमा पसल सञ्चालन गरी बस्दै आएका सात घरधुरी जोखिममा परेका छन् । जोखिममा परेका परिवारलाई स्थानीयवासी र प्रहरीको सहयोगमा आफन्तको घरमा स्थानान्तरण गरिएको छ ।
रेसुङ्गा नगरपालिका-४ सेउघामा घर माथिबाट पहिरो खसेपछि दुई परिवार विस्थापित भएका छन् । तेजबहादुर खत्रीको चार र एमकला खत्रीको दुईसहित छ जनालाई प्रहरी तथा स्थानीयको सहयोगमा उद्धार गरी नजिकैको गोठमा स्थानान्तरण गरिएको प्रहरी नायब उपरीक्षक विश्वकर्माले जानकारी दिनुभयो ।
उहाँका अनुसार मदाने गाउँपालिका-६ पुर्कोटदहस्थित ठुम्कामा हावाहुरी र वर्षाका कारण घरको टिनको छानो उडेपछि ३७ वर्षीय सन्तोष चुदराको परिवार विस्थापित भएको छ । चन्द्रकोट गाउँपालिका(४ रेमीमा ४४ वर्षीय खेमबहादुर कार्कीको गोठ भत्किएर क्षति पुगेपछि उहाँको परिवार पनि विस्थापित भएको छ । कार्कीको एकतले कच्ची गोठ भत्किँदाभित्र बाँधिएका पाडापाडी पुरिएर मरेका छन् ।
यसैगरी मुसिकोट नगरपालिका-१ पखेरामा २७ वर्षीया सुशीला विकको एकतले कच्ची गोठ भत्किँदा एउटा माउ बाख्रा पुरिएर मरेको छ । बाढी तथा पहिरोबाट हुनसक्ने जोखिमलाई ध्यानमा राख्दै नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले पहिरोग्रस्त क्षेत्रमा उद्धार कार्यलाई सक्रिय बनाएका छन् । जोखिमयुक्त क्षेत्रमा समयमै उद्धार टोली परिचालन गरिएको प्रहरीले जनाएको छ ।
जिल्लाका विभिन्न स्थानमा बाढी तथा पहिरोको जोखिम कायमै रहेकाले उच्च सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय गुल्मीले सर्वसाधारणमा आग्रह गरेको छ ।
कालीगण्डकीमा पानीको बहाव बढेपछि स्थानीयलाई सारियो
लगातारको वर्षासँगै आएको बाढीका कारण गुल्मीको कालीगण्डकी नदीमा पानीको बहाव बढेपछि रुरुक्षेत्र गाउँपालिका(१ रिडि बजारस्थित तटीय क्षेत्रका उच्च जोखिममा परेका बासिन्दालाई सुरक्षित स्थानमा सारिएको छ ।
इलाका प्रहरी कार्यालय रिडिबाट प्रहरी सहायक निरीक्षक मनबहादुर विश्वकर्माको नेतृत्वमा प्रहरी टोली उद्धार तथा स्थानान्तरणको काममा खटिएको प्रहरी नायब उपरीक्षक विश्वकर्माले जानकारी दिनुभयो ।
आज बिहान नदीमा पानीको सतह एकाएक बढेपछि जिल्ला प्रशासन कार्यालय गुल्मीले खोला किनारका नागरिकलाई सर्तक रहन र सुरक्षित स्थानमा बसोवास गर्न आग्रह गरेको छ । कालीगण्डकी नदीमा पानीको बहाव उच्च रूपमा बढ्दै गएपछि रिडीवासीमा यतिबेला थप त्रास बढेको छ । रासस























