कृषि

जैमिनी र तमानमा खायन आलु संरक्षण अभियान

Banner

बलेवा (बागलुङ), जेठ ५-

जैमिनी नगरपालिका र ताराखोला गाउँपालिकामा खायन प्रजातिको आलु संरक्षण अभियान थालिएको छ । बजारमा तराईका आलुभन्दा अधिकांशले स्थानीय आलुको माग गर्छन् । त्यसैले स्थानीय तहकै लगानी र कृषि ज्ञान केन्द्रको प्राविधिक सहयोगमा आलु संरक्षणको काम भएको हो ।

जैमिनी–३ को नौला, गाजाको दह, नेपाने बस्तीमा आलु प्रशस्त फल्छ । त्यो आलुलाई व्यावसायिक बनाउन वडा तहमा पहल भएको हो । वडाको अभियानमा पालिकाले साथ दिएको वडा नं ३ का सचिव सिमाना छन्त्यालले बताउनुभयो । यसअघि ताराखोला–४ र ५ मा खायन आलु संरक्षण अभियान सुरु भइसकेको छ । तराईबाट आउने आलु उपभोक्ताले मन पराउन छाडेपछि ग्रामीण आलुले बजार पाएको होटल व्यवसायी अर्जुन चोखाल बताउनुहुन्छ ।

बजारको चाहना बढेकाले उत्पादन बढाउन पहल भएको हो । बागलुङसहित छिमेकी जिल्लाका उपभोक्ताले अचेल ताराखोला, ढोरपाटन र गाजाको आलुको खोजी गर्छन् ।

यसअघि जैमिनी–३ का अधिकांश किसानले अन्नको पैँचोका लागि मात्र आलु प्रयोग गर्थे । अहिले भने बजारसम्म लैजान सहज हुने भएपछि व्यावसायिक रुपमा उत्पादन सुरु भएको हो । “अग्र्यानिक उत्पादन गर्ने र बजारमा पनि पठाउने योजनाअनुसार किसानले काम गर्नुभएको छ”, वडा नं ३ का अध्यक्ष कृष्णबहादुर भुजेलले भन्नुभयो, “उत्पादनअनुसार अनुदानको पनि व्यवस्था छ ।” पछिल्लो समय उत्पादनमा आधारित अनुदान पाउने गरी पालिका र ज्ञान केन्द्रले काम गरेका छन् ।

कृषि ज्ञान केन्द्र बागलुङका बागवानी विकास अधिकृत कुमार पुनले अग्र्यानिक खायन आलु विस्तार गर्न सकेमा बजारको कमी नहुने बताउनुभयो । “हामीले अहिलेसम्म ताराखोलामा रासायनिक मल सिफारिससम्म गरेका छैनौँ”, उहाँले भन्नुभयो, “अन्य केही तोकिएका स्थानमा पनि त्यो चलन छ ।”

बागवानी विकास अधिकृत पुनका अनुसार ताराखोलामा मात्रै ‘खायन आलु प्रवद्र्धन कार्यक्रम’ मा १५ समूहसँग सम्झौता गरेर अनुदान तथा आलु प्रवद्र्धनको कार्यक्रम सञ्चालन भएको छ । जैमिनीमा भने छन्त्याल कृषि समूहले यो काम गरेको हो । साथै अन्य किसानले पनि खायन आलुका लागि काम गरेका छन् । ज्ञान केन्द्रले उत्पादन पछि प्रतिकिलो रु दुई किसानलाई अनुदान दिने गरेको छ ।

कम्पोष्ट मल प्रयोग गर्दा आलुको गुणस्तर निकै राम्रो भएको पुनले बताउनुभयो । किसानले आलुबाटै मनग्य कमाई पनि गरेका छन् । आलुको बजारसमेत सजिलै पाइएकाले किसानले हरेक वर्ष उत्पादन बढाउने गरेको जनाइएको छ । घरबासका पाहुनालाई खुवाउनेदेखि कोसेली पठाउने काममा पनि ताराखोले आलु प्रयोग हुन्छ । रासस

फाइल तस्बिर

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>