समाचार
नक्कली लाइसेन्स प्रकरणमा थप दुई जना पक्राउ

काठमाडौँ, जेठ ४-
केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले नक्कली लाइसेन्स प्रकरणमा थप दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा इलाका प्रहरी कार्यालय सल्यानमा कार्यरत कम्प्युटर अपरेटर गणेश भण्डारी र यातायात व्यवस्था विभाग काठमाडौँमा कार्यरत कम्प्युटर अपरेटर दीपा न्यौपाने रहेका छन् ।
ब्युरोका प्रवक्ता होविन्द्र बोगटीका अनुसार भण्डारीलाई बुधबार र न्यौपानेलाई बिहीबार पक्राउ गरी अनुसन्धान सुरु भएको छ । यससँगै नक्कली लाइसेन्स प्रकरणमा पक्राउ पर्नेको सङ्ख्या ११ पुगेको ब्युरोले जनाएको छ ।
यसअघि ब्युरोले आइटी इन्जिनियर सुरजप्रकाश अर्याल, इन्जिनियर हरिश भट्ट, शाखा अधिकृत नारायणप्रसाद पाण्डे, लाजरस सुनुवार, प्रदीप सुनार, अजित मिश्र, मिलन बाँस्तोला, वसन्त पाण्डे र बिर्जुकुमार चौधरीलाई पक्राउ गरेको थियो । यी ११ जना नै विभाग र मातहतका कार्यालयमा अस्थायी करार कर्मचारीका रूपमा कार्यरत रहेको र उनीहरूको मिलेमतोमा ठुलो सङ्ख्यामा नक्कली लाइसेन्स वितरण भएको पाइएको बोगटीले जानकारी दिए ।
गत पुस २१ गते इलेक्ट्रोनिक ड्राइभिङ लाइसेन्स एन्ड भेहिकल रेजिस्ट्रेसन सिस्टम (इडिएलभिआरएस) प्रणालीमा शङ्कास्पद रूपमा भण्डारण भएका तथ्याङ्कबारे छानबिन गर्न समिति गठन भएको थियो ।
विभागको सूचना प्रविधि निर्देशक मुकेश रेग्मीको संयोजकत्वमा बनेको समितिमा विभागका शाखा अधिकृत अर्जुन अधिकारी, सविन श्रेष्ठ, बोधराज बराल र प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोका प्रहरी नायब उपरीक्षक डा तपनकुमार दाहाल सदस्य रहेका छन् ।























