समाचार
नेपालमा यो वर्ष सरदरभन्दा बढी वर्षा हुने

काठमाडौँ, जेठ १-
नेपालमा यो वर्षको मनसुन अत्यधिक वर्षामय हुने भएको छ । दोहोरिँदो खडेरीसँगै भित्रिने मनसुनमा सरदरभन्दा बढी वर्षा हुने प्रक्षेपण जल तथा मौसम विज्ञान विभागले गरेको हो । त्यस्तै मनसुन अवधिको तापक्रम पनि उच्च रहने भएको छ ।
विभागले सोमबार सार्वजनिक गरेको ऋतुगत मनसुन प्रक्षेपण अनुसार मनसुनको दोस्रो सत्र बढी वर्षामय हुने जानकारी दिएको छ । विभागको प्रक्षेपण ख्याल गर्दै आगामी तयारीमा जुट्न जलस्रोत, ऊर्जा तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले आग्रह गरे । विभागका महानिर्देशक डा जगदीश्वर कर्माचार्यले यस वर्षको वर्षाले जनधनको क्षति गर्ने विपत् आउन सक्ने सम्भावनालाई ध्यानमा राखी सोही अनुसार पूर्वतयारी गर्नुपर्नेमा जोड दिए ।
याे समाचार गाेरखापत्र दैनिकमा छ, विभागका उपमहानिर्देशक डा अर्चना श्रेष्ठले सन् १८८० को दशकमा भारत हुँदै नेपालमा मौसम पूर्वानुमान थालिएको इतिहास बताउँदै त्यसयताका मौसमी उतारचढावको चर्चा गरे । त्यो उतारचढाव अनुसार पछिल्लो समय मनसुनको अवधि पछाडि सर्दै र लम्बिँदै गएको विभागले प्रस्ट पारेको छ । जस अनुसार हरेक वर्ष जुन १० देखि सेप्टेम्बर २३ सम्मको अवधि मनसुनको रहने गरेकोमा सो लम्बिँदै अगस्ट २ तारिखसम्म पुगेको छ ।
विभागका जलवायु विश्लेषक सुदर्शन हुमागाईंले यस वर्षको मनसुनको पहिलो र दोस्रो महिना अर्थात् जुन र जुलाईमा सरदरभन्दा कम वर्षा हुने जानकारी दिए । यी दुई महिना कम वर्षा हुँदा थप तातोपन र खडेरी बढ्न सक्ने उहाँले पूर्वानुमान गर्नुभयो ।
प्रदेशगत रूपमा भने पश्चिमको गण्डकी, मध्यको बागमती तथा पूर्वी भेगको तराईमा अत्यधिक वर्षा हुने अनुमान छ । सुदूरपश्चिम प्रदेशको उत्तर–पश्चिम भूभाग, बागमतीको दक्षिण–पूर्वी भूभाग, मधेश प्रदेशको मध्य भूभाग र कोशी प्रदेशको मध्य तथा मध्यपश्चिम भूभागमा सरदर वर्षा हुने सम्भावना ३५ देखि ४५ प्रतिशत रहेको छ ।
नेपालमा एक वर्षको अवधिमा हुने कुल वर्षामध्ये ८० प्रतिशत मनसुनको समयमा हुने गरेको छ । वर्षभरि हुने वर्षाको ८० प्रतिशत वर्षा मनसुन अवधिमा हुने गर्छ ।
पहिलो दुई महिना कम वर्षा हुनेसँगै मनसुन र त्यसपछि पनि तापक्रमको अवस्था उच्चतातिर जाने भएको छ । विभागका प्रवक्ता विभूति पोखरेलका अनुसार जुन र जुलाईमा वर्षा कम भए पनि पछिको समयमा हुने बढी वर्षाले मनसुनको अवधिमा हुने कुल वर्षालाई पूर्णता दिने छ ।