पत्रपत्रिका
कुलमानको परिवारमाथि अकुत सम्पत्ति आर्जनको आरोपमा उजुरी

काठमाडौं, जेठ १-
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको परिवारमाथि अकुत सम्पत्ति आर्जनको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता भएको छ । कुलमान घिसिङ प्राधिकरणको निर्देशक भएसँगै छोटो अवधिमा परिवारको आर्थिक स्रोतबिनै अर्बौं रुपैयाँ सम्पत्ति आर्जन भएको देखिएको भन्दै उजुरीकर्ताले अख्तियारमा उजुरी दर्ता गरेका हुन् ।
आयोगमा उजुरी परेसँगै कुलमानका भाइ गणेश घिसिङसहितको परिवारको सम्पत्तिका विषयमा अख्तियारले छानबिन सुरु गरेको छ । कुलमानले आफ्ना भाइ तथा परिवारका सदस्यलाई १ अर्ब रुपैयाँभन्दा बढी आम्दानी छोटो समयमा कसरी दिलाए भन्ने विषयमा छानबिन हुनुपर्ने भन्दै उजुरी परेको आयोग स्रोतले जनायो ।
घिसिङ पहिलोपटक नेपाल विद्युत् प्राधिकरणको प्रबन्ध निर्देशक नियुक्त भएपछि अपारदर्शी रूपमा आएको पैसा लगानी गरेर आफ्ना भाइ गणेश घिसिङका नाममा ३ करोडको कम्पनी दर्ता गराएका थिए । सो कम्पनीमा कुलमानले भाइहरूको नाम राखेको र अर्बौं रुपैयाँको सम्पत्ति आर्जन गरेको आरोप उजुरीकर्ताले लगाएका छन् । प्राधिकरणको आवरणमा सोही कम्पनीबाट अर्बभन्दा बढीको कारोबार कुलमानबाट के–कसरी भयो सबै छानबिन गरेर कानुनी दायरामा ल्याउनुपर्ने माग गर्दै उजुरी परेको हो ।
नेपाल विद्युत् प्राधिकरणमा सातौं तहबाट प्रवेश गरेका कुलमानले चिलिमे जलविद्युत् कम्पनीमा हुँदासमेत बनेपा धुलिखेललगायतका ठाउँमा २५ रोपनीभन्दा बढी जग्गा खरिद गरेको र प्राधिकरणको प्रबन्ध निर्देशक भएपछि आफ्ना भाइहरू गणेश घिसिङ, अनिल घिसिङ, सानुकान्छा घिसिङ र सुरेश घिसिङका नाममा २०७४ सालमा ३ करोडको लगानीमा तेन्डेल हार्डवेयर प्रालि नामक कम्पनी स्थापना गरेको र सो कम्पनीले १७ वटा बैंकमा गरेर अर्बभन्दा माथिको कारोबार गरेको भन्दै उजुरीमा कुनै आयस्रोत नभएका बिहान बेलुका खाना खानसमेत समस्या रहेको परिवारको अवस्था कुलमान प्राधिकरणको प्रबन्ध निर्देशक हुनासाथ ३ करोडको कम्पनी दर्ता गर्नसक्ने हैसियतको हुनुमा कुलमानले प्राधिकरणको आवरणमा कमाएको अवैध आम्दानी भएको भन्दै छानबिन गर्नुपर्ने उल्लेख छ । यो समाचार राजधानी दैनिकमा छ ।