अन्तर्राष्ट्रिय

सिड्नीको सपिङ मलमा अन्धाधुन्ध छुरा प्रहार हुँदा मारिएका ६ जना को हुन ?

Banner

सिड्नी , वैशाख ५-

गत शनिबार अष्ट्रेलियाको सिड्नीस्थित वेस्टफिल्ड सपिङ मलमा अन्धाधुन्ध छुरा प्रहार हुँदा ६ जनाको मृत्यु भयो। मृत्यु हुनेमा पाँच महिला र एकजना पुरुष छन्। पाँच जनाको घटनास्थलमै र एक महिलाको उपचारका क्रममा मृत्यु भएको हो।

एक व्यक्ति सपिङ मलमा प्रवेश गरी आफ्ना अगाडि देखिने व्यक्तिहरूमाथि अन्धाधुन्ध छुरा प्रहार गर्दा ८ जना भन्दा बढी घाइते भएका थिए। गम्भीर घाइते भएकी ९ महिने बालिकाको स्वास्थ्य अहिले स्थिर रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन्।

छुरा प्रहार गर्ने व्यक्ती प्रहरीको गोलीबाट मारिएका थिए। एक महिला प्रहरीले उनीमाथि गोली प्रहार गरेका थिए।

प्रहरीको अनुसन्धानबाट ती व्यक्ति ४० वर्षीय जोयल काउची रहेको खुलेको छ। उनको मानसिक अवस्था ठीक नभएको पनि सिड्नी प्रहरीले पत्ता लगाएको छ। घटनामा नेपालीहरू सवै सुरक्षित रहेको परराष्ट्र मन्त्रालयले यसअघि नै जानकारी दिइसकेको छ।

मारिनेमध्ये १ जना जर्जियाका नागरिक, एक जना चिनियाँ विद्यार्थी र एक पाकिस्तानका शरणार्थी रहेको बताइएको छ।

डउन सिंगलटन

२५ वर्षीया सिंगलटन सिड्नीका उच्च घरानाका व्यवसायी जोन सिंगलटनकी छोरी हुन्। उनी वेस्टफिल्ड मलमा ह्वाइट फक्स बुटिकमा काम गर्थिन्। आक्रमण हुँदा उनी सोही बुटिकमा काम गर्दै थिइन्।

मलमा छुरा आक्रमण हुँदा उनका जोन सिंगलटनले छोरीसँग सम्पर्क नभएपछि उनले सिड्नीकै एक रेडियोमा काम गर्ने आफ्ना साथी रे हाड्लीसँग सहयोग मागेका थिए।

‘उहाँ एकदमै चिन्तिन हुनुहुन्थ्यो, छोरीको अवस्था बुझ्न पाइनँ तिमिले प्रयास गरिदेउ भन्नुभएको थियो,’ हाड्लीले बिबिसीसँग भनेकी छन्।

त्यसपछि आफूले प्रहरीसँग बुझ्दा डउन पनि आक्रमणमा परेको र मृतकहरूमध्ये उनीपनि एक रहेको जानकारी पाएको हाड्लीले बताए।डउनका श्रीमान पनि प्रहरी हुन्। घटनामा आफ्नी श्रीमती पनि मारिएको खबर पाउनुअघि उनी माथिल्लो निकायमा घटनाको ब्रिफिङ गराउँदै थिए।

जेड योङ

४७ वर्षीया जेड योङ वास्तुकार थिइन्। उनका दुई सन्तान छन्। उनी पनि सोही मलको एक बुटिकमा काम गर्दै आएकी थिइन्। बुटिकका सञ्चालक जर्जिया विल्सनका अनुसार जेड विगत १२ वर्षदेखि सोही बुटिकमा काम गर्दै आएकी थिइन्।

उनी ब्रोन्टी सर्फ लाइफसेभिङ क्लबमा आवद्ध भएर लामो समयदेखि सामाजिक काम गर्दै आएकी थिइन्।

‘उहाँको मृत्युले क्लबलाई ठूलो क्षति पुगेको छ। हामी स्तब्ध छौं,’ क्लबका प्रवक्ता बसिल स्काफीडीले भनेका छन्।

यशली गुड

३८ वर्षीया यशली गुड छुरा प्रहार हुँदा गम्भीर घाइते भएकी थिइन्। उनकी नौ महिनाकी छोरीमाथि पनि छुरा प्रहार भएको थियो। प्रत्यक्षदर्शीका अनुसार घाइते अवस्थामै यशली आफ्नी छोरीलाई बचाउन सहयोग माग्दै यताउती दौडिएकी थिइन्।

पछि एउटा र्‍याकबाट कपडा थुतेर आफ्नी छोरीको चोटमा थिचेर रक्तश्राव रोक्ने प्रयास गरेकी थिइन्।

अस्पताल पुर्‍याएको केही क्षणमै उनको मृत्यु भएको थियो। उनकी छोरीको अपरेशन गरिएको थियो। अहिले उनकी छोरीको स्वास्थ्य स्थिर भएको बिबिसीले उल्लेख गरेको छ।

फरज तहिर

३० वर्षीय फरज तहिर शरणार्थी हुन्। उनी पाकिस्तानबाट एक वर्ष अघि मात्रै शरणार्थीका रूपमा अष्ट्रेलिया पुगेका थिए।

आक्रणम भएको सपिङ मलमा उनी सुरक्षा गार्डको रूपमा कार्यरत रहेको बिबिसीले उल्लेख गरेको छ। उनले एक साता अघि मात्रै सुरक्षा गार्डको रूपमा उक्त सपिङ मलमा काम थालेका थिए। जोयल काउचीबाट अरूलाई बचाउने क्रममा उनी मारिएको अष्ट्रेलियास्थित पाकिस्तानी दूतावासले जनाएको छ।

उनको पार्थिव शरीर पाकिस्तान फर्काउन सिड्नीस्थिती पाकिस्तानका उच्च आयुक्त जाहिद हफिज चौधरीले आग्रह गरेका छन्।

पिकरिया डारसिया

छुरा प्रहारबाट मारिएका ६ मध्येकी एक पिकरिया डारसिया जरजियाका नागरिक हुन्। उनी एक कलाकारसमेत रहेवको बताइएको छ। उनको बारेमा अन्य ‍विवरणहरू प्रहरीले सार्वजनिक नगरिएको बिबिसीले उल्लेख गरेको छ।

चेङ यीछुआन

२५ वर्षीया चेङ यीछुआन चिनियाँ विद्यार्थी हुन्। उनी युनिभर्सिटी अफ सिड्नीमा अध्ययनरत थिइन्। सपिङ मलमा आक्रमण हुनुपूर्व उनले चीनमा रहेका आफ्ना परिवारसँग सम्पर्क समेत गरेकी थिइन्। त्यसपछि भने उनीसँग सम्पर्क नभएको चेङका श्रीमानले बिबिसीसँग बताएका छन्।

युनिभर्सिटी अफ सिड्नीका उपकुलपति मार्क स्कटले उक्त आक्रमणमा एक विद्यार्थी मारिएको पुष्टि गर्दै उक्त घटनाले दुःखी बनाएको बताएका छन्। एजेन्सी

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>