देश/प्रदेश
राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई अत्याधुनिक बनाउँछौँः मन्त्री पुन

काठमाडौँ, असोज १६ –
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१ को आवश्यकता र महत्वबारे प्रस्ट पार्दै प्रयोगशालालाई अत्याधुनिक बनाउने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।
राष्ट्रिय सभाको शुक्रवारको बैठकमा बोल्दै उहाँले लामो समय गठन आदेशका भरमा नाममात्रको प्रयोगशालाका रूपमा सञ्चालित संस्था अब ऐनमार्फत व्यवस्थित संरचनामा जाने बताउनुभएको हो । विधेयकमाथि भएको लामो छलफलमा मन्त्री पुनले प्रयोगशालाको वर्तमान दयनीय अवस्थाबारे सदनलाई जानकारी गराउनु भयो ।
विशेषगरी भोटेकोशी बाढीका बेला पीडितहरूको डीएनए परीक्षण गर्नुपर्दा प्रयोगशालाको कमजोर क्षमता उदांगिएको थियो । त्यतिबेला विदेशी टोलीको सहयोगमा मात्र परीक्षण सम्भव भएको भन्दै मन्त्री पुनले अब स्वदेशी क्षमता नै बलियो बनाउनुपर्नेमा जोड दिनुभयो ।

























