कृषि

छिल्लीकोटबासीको आम्दानीको स्रोत मालागेडी

Banner

देउखुरी (दाङ), चैत १६-

दाङको तुलसीपुर उपमहानगरपालिका–१९ छिल्लीकोटबासी मालागेडी अर्थात् सुगन्धकोकिला बिक्री गरेर यस वर्ष करिब रु दुई करोड आम्दानी गर्न सफल भएका छन् । माडागेडीबाट निस्कने सुगन्धले छिल्लीकोट बाह्रै महिना बासनादार बन्ने गरेको छ । चैत लागेसँगै फूल फुल्न थालेपछि अचेल सो ठाउँको वातावरण मगमग बासनादार बनेको छ । यस वर्ष मौसमले निकै साथ दिएपछि मालागेडी अर्थात् सुगन्धकोकिला बिक्रीबाट राम्रो आम्दानी भएको छिल्लीकोटबासी बताउँछन् ।

यस रु ५७ हजार प्रतिक्विन्टलमा मालागेडी बिक्री भएको स्थानीय तिलबहादुर वलीले बताउनुभयो । उहाँले यस पटक १० क्विन्टल मालागेडी बिक्री गर्नुभयो । बाउबाजेको पालामा रोपेको मालागेडीका रुख अहिले ठूलाठूला भएर फल दिने भएका छन् । पछिल्लो समय व्यावसायिक रुपमा यसको खेती गर्न थालेपछि रोपिएका रुपले पनि प्रशस्त मात्रामा फल दिन थालेको छ । त्यसले गर्दा मालागेडी बिक्री गरेर उहाँले मनग्य आम्दानी गर्नुभयो ।

स्थानीय ६७ वर्षीयी नत्रबहादुर खत्रीको १२ जनाको परिवार छ । यस वर्ष उहाँले १२ क्विन्टल मालागेडी बिक्री गरेर रु छ लाख ८४ हजार आम्दानी गर्नुभयो । रोपेको छ वर्षपछि नै बिरुवाले फल दिन थालेको उहाँले बताउनुभयो । उहाँको घरमा ५० बोट जति पुराना रुख छन् । अरु नयाँ बोट पनि हुर्किरहेका छन् । हुर्केका बिरुवाले वर्षौंसम्म फल दिन्छन् । एक पटकको लगानीले वर्षांैसम्म आम्दानी दिने भएपछि यहाँका अधिकांशको घरमा मालागेडीका बिरुवा भएको खत्रीले बताउनुभयो ।

पाकेपछि रुखबाट खस्ने फललाई सङ्कलन गरेर बिक्री गर्ने गरेको सोही वडाको खानी गाउँका खुमा थापाले बताउनुभयो । उहाँ पेसाले शिक्षक हुनुहुन्छ । उहाँ जनता मावि बिजौरीमा शिक्षण गर्नुहुन्छ । गाउँका हरेक घरमा मालागेडीका रुख छन् । बिदाको समयमा मालागेडी सङ्कलन गर्ने गरेको उहाँले बताउनुभयो । विश्वमै लोपोन्मुख प्रजाति मालागेडी अर्थात् सुगन्ध कोकिला छिल्लीकोट क्षेत्रमा प्रशस्त मात्रामा पाइने गरेको उहाँले बताउनुभयो ।

अन्यत्र फलेको मालागेडीभन्दा छिल्लीकोटमा फलेको मालागेडीले मूल्य राम्रो पाउने गरेको थापा बताउनुहुन्छ । फूल फुल्ने समयमा असिना पानी परेन भने राम्रो फल दिने उहाँले बताउनुभयो । यस वर्ष हावापानीले राम्रै साथ दिएपछि गाउँभरबाट करिब एक सय ५० क्विन्टल मालागेडी निकासी भएको उहाँ बताउनुहुन्छ । एक घरबाट दुई क्विन्टलदेखि १२ क्विन्टलसम्म मालागेडी बिक्री भएको बताइएको छ । मालागेडी किन्न व्यापारी घरमै आउने हुँदा बजारको समस्या नरहेको उहाँको भनाइ छ ।

तुलसीपुर–१८ को दूधरासबाट उत्तर पहाडमा करिब १२ किलोमिटरको दूरीमा रहेको छिल्लीकोटमा मालागेडीलगायत थुप्रै आयुर्वेदिक वनस्पति पाइन्छन् । “यो हाम्रा लागि आम्दानीको गतिलो स्रोत हो”, स्थानीय तिलबहादुर वलीले भन्नुभयो, “मालागेडी नै हाम्रो मुख्य आम्दानीको स्रोत हो, छिल्लीकोटका सबै घरपरिवारले व्यावसायिक रुपमा मालागेडीको खेती गर्दै आएका छन्, स्थानीयको आम्दानीको मुख्य स्रोत यही मालागेडी हो ।”

असोज लागेपछि कालो भएर आफैँ खस्ने मालागेडी सङ्कलन गर्न सजिलो होस् भन्दै रुखको वरपरका सबै झाडी सफा गरेर मैदान बनाउने गरिन्छ । यसरी सङ्कलन गर्दा चाँडो हुने गरेको उहाँ बताउनुहुन्छ । मालागेडी बेच्न बजार खोज्नु पर्दैन मानिस घरमै आउँछन् । बर्सेनि यसको माग र मूल्य दुवै बढ्दै गएको छ । नुहाउने साबुन, स्याम्पु, अत्तर, अगरबत्तीलगायत कच्चापदार्थका रुपमा लिइने सुगन्धकोकिला नै छिल्लीकोटको पहिचान बनेको छ ।

छिल्लीकोट क्षेत्रमा पर्ने खानी गाउँ, चुचुर्के, तिनुखोला, डोटेल डाँडा, पीपलडाँडा, पैयाँ टाकुरालगायत आसपासमा मालागेडीका रुखैरुख छन् । हाल यो वनस्पतिको खेती अन्य पालिकामा पनि विस्तार हुने क्रममा रहेको स्थानीय किसान परवीर पुनले बताउनुभयो । हालसम्म २६ जिल्लामा छिल्लीकोटबाट मालागेडीका बिरुवा पठाइएको उहाँले बताउनुभयो ।

डिभिजन वन कार्यालयले हरेक वर्ष आफ्ना नर्सरीमा उन्नत जातका मालागेडीका बिरुवा उत्पादन गरेर किसानलाई निःशुल्क वितरण गर्दै आइरहेको कार्यालय दाङका प्रमुख मोहन श्रेष्ठले बताउनुभयो । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>