देश/प्रदेश

बेतबाँसका सामग्री बेचेरै व्यावसायिक बने बाधुराम

Banner

कैलाली, चैत ४

धनगढी उपमहानगरपालिका – ४ उत्तरबेहडीका बाधुराम चौधरी हस्तकलासम्बन्धी व्यावसायिक उद्यमी हुनुहुन्छ । उहाँले विगत पाँच वर्षदेखि बेतबाँसको सामग्री उत्पादन गर्दै आउनुभएको छ ।

चौधरीले बेतबाट घरायसी प्रयोगमा आउने धेरै प्रकारका सामान बनाइ बेच्नुहुन्छ । उहाँको व्यवसायमा परिवारले राम्रो साथ दिएको छ । व्यावसाय सुरु गर्दा आर्थिकस्थिति कमजोर थियो । फर्म दर्ता गर्नसमेत उहाँसँग पैसा थिएन । रु दुई हजार पाँच सय रकम सापटी मागेर टीकापुरको सतीबाट बेतबाँस खरिद गरी सामग्री बनाउन थाल्नुभयो । “पढ्ने इच्छा हुँदाहुँदै आर्थिक स्थिति कमजोर भएकैले बीचमै पढाइ छोड्नु परेको थियो”, उहाँले विगत सम्झिँदै भन्नुभयो ।

बेतबाँसको उद्योग सुरु गर्नुको कारण भने रोचक छ । उहाँ सानैदेखि पुस्तक अध्ययन गर्न रुचाउनुहुन्थ्यो । एकदिन उद्यमशीलतासम्बन्धी पुस्तक पाउनुभयो । सो पुस्तकमा तीन ‘ज’ बारे उल्लेख गरिएको थियो । त्यहाँ लेखिएको तीन ‘ज’ को अर्थ बिर्सनुभएको छैन । पहिलो ‘ज’ को अर्थ आफूसंँग ‘जे’ छ ( उपलब्ध सामग्री ) त्यहीँबाट व्यावसाय सुरु गर्नुहोस् । दोस्रो आफ्सँग ‘जति’ छ ( रुपैयाँ ) त्यतिबाट सुरु गर्नुहोस् र तेस्रो आफू ‘जहाँ’ ( स्थान/ठाउँ ) हुनुहुन्छ त्यहीँबाट व्यावसाय सुरु गर्नुहोस भन्ने लेखिएको थियो । त्यही लेखबाट प्रेरित भई उहाँले व्यावसाय शुरु गर्नुभयो ।

त्यसपछि २०७५ साल मङ्सिरमा धनगढीस्थित फर्म दर्ता गरी व्यवसायलाई अघि बढाउनुभयो । “सुरुआती दिनमा बेतबाट निर्मित सामग्रीले बजार पाएन”, उहाँले भन्नुभयो, “समयसँगै यी सामग्रीले बजार पाउन थाल्यो । बिक्री बढ्यो । अहिले भने यसको माग बढ्दो छ ।” यही व्यावसायबाट उहाँले पाँचजनाको परिवार धानिरहनुभएको छ । एक छोरा र दुई छोरी विद्यालय पढाइरहुनभएको छ ।

उहाँले बेतबाट ह्याङ्गर, फूलदानी, पिर्का, झुला, चुरादानीलगायतका सामग्री बनाउनुहुन्छ । “धनगढीमा कैलाली, कञ्चनपुरलगायत सुदुरपश्चिम प्रदेशका नौ वटै जिल्लाका मानिस आवतजावत गर्दछन्”, उहाँ भन्नुहुन्छ, “यसरी विभिन्न जिल्लाबाट धनगढी आउने ग्राहकले घरायसी प्रयोजनका लागि मेरो उद्योगबाट बेतका सामग्री खरिद गर्नुहुन्छ ।”

उहाँले मासिक रुपमा रु ६० हजार बराबरको व्यापार हुने बताउनुभयो । बिक्री भएको सामग्रीबाट ३५ देखि ४० प्रतिशत फाइदा हुने उहाँको भनाइ छ । कमाउनका लागि विदेश जानैपर्छ भन्नेका लागि उहाँ अहिले प्रेरणाको स्रोत हुनुभएको छ । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>

होमपेज केही सेकेण्डमा लोड हुनेछ।

  • Advertisement area
  • Skip this

Advertisement area