समाचार
नाउपामा सरकारलाई विश्वासको मत दिन र नदिनमा दुई थरि मत

कैलाली, फागुन २९-
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भोलि विश्वासको मत लिने तयारी गरेका छन् । अहिले सम्म माओवादी, एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादी पार्टीले प्रधानमन्त्री दाहाललाई विश्वासको मत लिने निर्णय गरेका छन् ।
कांग्रेस, जनमत लगायतले भने विश्वासको मत नदिने निर्णय गरेका छन् । नागरिक उन्मुक्ति पार्टीमा भने अहिलेसम्म पनि विश्वासको मत दिने र नदिने भन्ने विषयमा मत बाझिएको देखिन्छ । सोमबार कैलालीको टिकापुरमा बसेको संस्थापक केन्द्रीय सदस्यहरूको दुई तिहाइ बहुमतले नयाँ गठबन्धनको सरकारमा सहभागी नहुने, प्रतिपक्षमा बस्ने र सरकारलाई समर्थन नगर्ने निर्णय गरेको थियो । आज ज्येष्ठ संस्थापक केन्द्रीय सदस्य तथा वार्ता समिति संयोजक दामोदर पण्डितले एक विज्ञप्ति जारी गर्दै सरकारलाई समर्थन नदिने प्रष्ट पारेका हुन् ।
तर, यता संसदीय दलले भने प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिन ह्विप जारी गरिसकेको छ । नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष तथा संसदीय दलको नेता रञ्जिता श्रेष्ठले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिन अनुरोध गरेकी हुन् ।























