समाचार
प्रदेश सरकारलाई निरन्तरता दिन कांग्रेसमा छलफल

काठमाडौँ, फागुन २९-
नेपाली कांग्रेसले प्रदेशहरूमा पार्टीको नेतृत्वमा रहेका सरकारलाई निरन्तरता दिनेबारे छलफल गरेको छ । सभापति शेरबहादुर देउवाको निवास बूढानिलकण्ठमा मंगलबार प्रदेशका सभापति र संसदीय दल नेतासहित बैठक राखेर कांग्रेसले सरकारलाई निरन्तरता दिनेबारे छलफल गरेको हो ।
पदाधिकारी तथा पूर्वपदाधिकारीहरूको बैठकमा प्रदेश सभापति, दलको नेता र मुख्यमन्त्रीहरू सहभागी थिए । बैठकपछि नेता अर्जुननरसिंह केसीले प्रदेशहरूमा थप दलका सहयोग जुटाएर पार्टी नेतृत्वमा रहेका सरकारलाई निरन्तरता दिनेबारे कुराकानी भएको बताए।
संसदभित्र र बाहिर कांग्रेसले प्रभावकारी भूमिका निर्वाह गरेर जनस्तरमा आफूलाई सशक्त र जीवन्त बनाउन विषयमा छलफल भएको केसीले बताए ।
सहमहामन्त्री जीवन परियारले छलफलमा सातै प्रदेशका पार्टी सभापतिहरू र संसदीय दल नेताहरूले प्रदेशका अवस्थाबारे ब्रिफिङ गरेको बताए ।
नयाँ समीकरणअनुसार प्रदेशमा स्वतः एमाले, माओवादी, जसपा र नेकपा एकीकृत समाजवादीको गठबन्धन हुने देखिएको छ ।
समीकरणअनुसार चार दलको गठबन्धन हुँदा कोशी, मधेस र कर्णाली प्रदेशमा मात्रै बहुमत देखिन्छ ।























