कृषि

थोरै जग्गामा धेरै तरकारी फलाएर गतिलो आम्दानी गर्दै दलबहादुर

Banner

कञ्चनपुर, फागुन १५-

बेदकोट नगरपालिका–४ बैतोडाका दलबहादुर बोहराले थोरै जग्गामा तरकारीखेती गरी घरखर्च सहजरूपमा चलाउँदै आउनुभएको छ । चार कठ्ठा जग्गामा व्यावसायिक तरकारीखेती गरेर उहाँले वर्षमा रु दुई लाख बढी आम्दानी गर्दै आउनुभएको छ ।

बाह्रै महिना बोहराको बारीमा तरकारीखेतीमात्रै हुने गरेको छ । तरकारीखेतीबाटै खर्च चल्न थालेपछि विगतमा जस्तो उहाँलाई अहिले घरखर्च चलाउन भारत जानुपरेको छैन । कोरोना महामारीका कारण भारतीय सहर बैङ्गलोरमा सेल्समेनको जागिर छुटेपछि बोहरा तीन वर्षअघि घर फर्कनुभएको हो । घर फर्केपछि बोहराले तीन वर्षदेखि व्यावसायिकरूपमा तरकारीखेती गर्दै आउनुभएको छ । तरकारीखेतीबाटै उहाँको परिवारको घरखर्च सहजरूपमा चल्न थालेको छ ।

“विगतमा भारतमा काम गरेर घरखर्च चलाउँदै आएको थिएँ, महिनाको रु १०–१२ हजार जति पर्दथ्यो”, बोहराले भन्नुभयो, “कोरोनाका कारण कम्पनी बन्द भएपछि बेखर्ची भएर घर फर्केँ, फर्केर केही दिन मजदुरी गरेँ, त्यसबाट घरखर्च चलाउन सकिने अवस्था भएन ।” उहाँ भन्नुहुन्छ, “मोबाइलमा युट्युब हेर्थे, थोरै जग्गामा पनि मौसमी बेमौसमी तरकारीखेती गरेर मनग्य आम्दानी गरेको देखेँ, त्यसपछि तरकारीखेती गर्ने निधो गरेँ, तरकारी खेती त गर्ने कसरी गर्ने भन्ने प्रश्न उब्जिन थाल्यो ।”

“तरकारीखेती सुरु गर्नका लागि बीउबिजन, मलखाद खरिद गर्ने पैसा थिएन, जेजस्तो होला भन्ने भावना मनमा पैदा भयो”, अगाडि थप्दै बोहरा भन्नुहुन्छ, “साथीभाइ र छिमेकीबाट सापटी लिएर युट्युबबाट तरकारी लगाउने विधि सिक्दै तरकारी रोपेँ, पहिलो सिजनमै सापटी लिएको पैसा तिर्न भ्याएर र घरखर्च चल्नेसम्मको आम्दानी भयो ।”

बोहराले तरकारीखेती गर्ने जग्गा भने चार कठ्ठा जतिमात्रै छ । त्यहीँ जग्गामा काउली, गोलभेँडा, काँक्रा, तितेकरेला, बोडी, आलुलगायत तरकारी मौसमी र बेमौसमीरूपमा लगाउँदै आउनुभएको छ । तरकारीखेतीबाट आएको आम्दानी खर्च गरेर उहाँले दुईवटा प्लाष्टिक टनेल निर्माण गर्नुभएको छ । आलुलगायतका मौसमी तरकारी टनेल बाहिरै रोपेर उहाँले आम्दानी गर्दै आउनुभएको छ । अन्य लहरे तरकारी टनेलभित्रै रोप्ने गर्नुहुन्छ ।

तरकारीखेतीकै लागि उहाँले वर्षमा रु ६५ हजार बढी लगानी गर्दैैै आउनुभएको छ । लगानी कटाएर वर्षमा रु एकदेखि रु एक लाख ८० हजारसम्म उहाँले आम्दानी गर्दै आउनुभएको छ । तीन जनाको परिवारका लागि लत्ताकपडा, खाद्यान्न र अन्य खर्च चल्ने गरेको बोहरा बताउनुहुन्छ ।

“श्रीमतीले दिउँसो निजी विद्यालयमा काम गर्छिन्”, उहाँले भन्नुभयो, “तलबबापत आउने रकम र तरकारी बिक्री गरेर आउने रकमले तीन जनाको परिवारको घरखर्च सहजरूपमा चल्छ, विद्यालयबाट फर्केपछि श्रीमतीले पनि तरकारीखेती गर्नमा सघाउने गरेकी छिन् ।”

उत्पादित तरकारी अधिकांश बारीबाटै बिक्री हुने गरेको छ । बिक्री हुन नसकेका तरकारी बोहरा साइकलमा राखेर गाउँ डुलाउँदै बेच्ने गर्नुहुन्छ । तरकारीखेतीमै भविष्यका सपना बुन्न थालेकाले थप जग्गा भाडामा खोजेर ठूलो परिमाणमा तरकारी उत्पादन गर्ने धोको रहेको बोहरा बताउनुहुन्छ । बैतोडा गाउँमा व्यावसायिक तरकारीखेती गर्ने बोहरा एक्ला किसान हुन् । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>