कालिका
सिद्धीका चेपाङ विद्यार्थीलाई एक्सपर्ट चितवनको खाद्यान्न र स्टेशनरी सहयोग

चितवन, असोज २३–
चितवनको पहाडी भेग कालिका नगरपालिका–१०, सिद्धी चेपाङ बाहुल्य बस्ती हो । यहीँ बस्तीमा रहेका बालबालिकालाई शिक्षा दिने उद्देश्यले ९ वर्षअघि सिद्धि छात्रावासको स्थापना भयो । स्थानीय भरत चेपाङ आफ्नै घर छेउँमा एउटा कोठाबाट छात्रावासको सुरुवात गर्दै चेपाङ बालबालिकालाई शिक्षा दिलाउन प्रयत्न गरे । अहिले यहीँ छात्रावासमा रहेर ७० जना बालबालिकाहरुले शिक्षा पाइरहेका छन् । ‘केही बालबालिकालाई राखेर सुरु गरिएको छात्रावासमा अहिले ७० जना बाबुनानीहरु अध्ययन गरिरहनु भएको छ, विभिन्न दाताहरुको सहयोगमा चेपाङ बालबालिकालाई शिक्षा दिलाउन सकिएको छ’–छात्रावासका संस्थापक भरत चेपाङले भने ।

अहिले दाताकै भरमा चलिरहेको यो छात्रावासलाई शुक्रबार भरतपुरमा रहेको एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजले विद्यार्थीहरुका लागि खाद्यान्न, स्टेशनरी, किताब बोक्ने ब्यागलगायत सामग्री सहयोग ग¥यो । यसले विद्यार्थीहरुलाई उत्साहित बनायो । एक्सपर्ट चितवनका प्रवन्ध निर्देशक डिल्लीराम अधिकारीले संस्थाको वार्षिकोत्सवको अवसर पारेर अहिले भइरहेको खाद्यान्नलगायतका अभावलाई समाधान गर्न सहयोग गरिएको बताए । उनले विगतदेखि नै चेपाङ बालबालिकाको शिक्षाका लागि सहयोग गर्दै आइरहेको भन्दै यहाँका बालबालिकालाई आवश्यक स्टेशनरी र अन्य सामग्री सहयोग गरिएको बताए ।

यो छात्राबासमा रहेर चितवन, मकवानपुर र धादिङका ६ वटा स्थानीय तहका ७० जना बालबालिकाहरु अध्ययन गरिरहेका छन् । विगतमा १० कक्षासम्म अध्ययन गर्ने बालबालिकालाई मात्रै छात्रावासमा राखेर अध्यापन गराइएकोमा यसवर्षदेखि कक्षा ११ का बालबालिकालाई पनि राखिएको छात्राबासका संस्थापक चेपाङले भने । ‘दश कक्षा मात्रै पढाएर हाम्रो उद्देश्य पुरा भएन, यसवर्षदेखि कक्षा ११ मा पढ्ने बालबालिकाहरुलाई पनि राखेका छौं, उनीहरुलाई पढाउन र राख्न दाताहरुकै सहयोगको भरमा छौं’–चेपाङले भने ।
यस छात्राबासमा केही अनाथ बालबालिका र पढ्न नपाएका बच्चाहरुलाई ल्याएर राखिएको छ । उनीहरुलाई आवासीय रुपमा राखेर पढाउन दैनिक ३० किलो चामल आवश्यक पर्छ भने अन्य सामग्री पनि उत्तिकै आवश्यक पर्छ ।
सहयोग हस्तान्तरण कार्यक्रममा एक्सपर्टका रिजनल म्यानेजर किरण पौडेल, बिजनेस डेभलपमेन्ट म्यानेजर विनोदबाबु रिजाललगायतको उपस्थिति रहेको थियो ।


























