देश/प्रदेश

एकताका लागि दौड प्रतियोगिता गर्दै नेपाली सेना

Banner

कर्णाली, फागुन ३-

नेपाली सेना उत्तरपश्चिम पृतना हेडक्वाटर सुर्खेतले ‘एकताका लागि दौड प्रतियोगिता–२०८०’ आयोजना गर्ने भएको छ ।

पृतना हेडक्वाटरले सुर्खेतमा आज पत्रकार सम्मेलनको आयोजना गरी यही फागुन १२ गते शनिबारका दिन वीरेन्द्रनगरमा दौड प्रतियोगिता गर्ने जनाएको छ । कार्यक्रममा पृतनापति कृष्णदेव भट्टले नेपाली सेनाले राष्ट्रिय विकास, प्रकृति संरक्षण र विपद्लगायतका क्षेत्रमा काम गर्दै आएको जनाउँदै पछिल्लो समयमा पत्रकार, नागरिकसँग सम्बन्ध बढाउन जनहितका गतिविधि गर्दै आएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “सेनाले विपद् जोखिममा मात्र काम गरेको छैन, यसले स्वास्थ्य शिविर सञ्चालन, रक्तदान, हेलिप्याड, प्रतिक्षालय, पुल तथा विद्यालय भवन निर्माण र नागरिक सचेतना तथा राष्ट्रिय हित हुने कार्यक्रम पनि गर्दै आएको छ, हामीले सेना र प्रेसबीचको अन्तरसम्बन्धमा अभिवृद्धि तथा जानकारी आदानप्रदान गर्ने ध्येयले पत्रकार भेटघाट कार्यक्रम गरेका हौँ ।”

महासेनानी सुवास खड्काले नेपाली सेनाले संविधानप्रदत्त र जङ्गीअड्डाद्वारा निर्देशित कार्यक्रम गर्दै आएको बताउनुभयो । “उत्तर–पश्चिम पृतनाले कर्णालीका आठ र लुम्बिनीका दुई जिल्ला गरेर ३१ हजार आठ सय ९६ वर्ग किलोमिटर क्षेत्रफलको उत्तर–दक्षिणका जिल्ला हेर्दै आएको छ”, महासेनानी खड्काले भन्नुभयो, “जाजरकोट भूकम्पका बेला एक हजार १४ नेपाली सेना परिचालन गरी विपद् प्रतिकार्य, खोज तथा उद्धारका काम गरिएको थियो ।”

उहाँले यही फागुन १२ गते कक्षा ८ देखि १२ सम्मका लागि महिला र पुरुष पाँच किलोमिटर, खुला पुरुष तथा महिला दौड १० किलोमिटर र हाफ म्याराथन २१ किलोमिटर, खुला पुरुष दौड प्रतियोगिता हुने बताउनुभयो । महासेनानी खड्काका अनुसार पाँच किलोमिटरमा भाग लिएर प्रथम, द्वितीय र तृतीय स्थान प्राप्त गर्ने ८ देखि १२ कक्षासम्मका विद्यार्थीलाई क्रमशः रु दश, पाँच र तीन हजार पुरस्कार दिइनेछ ।

त्यस्तै १० किलोमिटरमा प्रथम, द्वितीय र तृतीय स्थान प्राप्त गर्ने खेलाडीलाई रु २०, १५ र १० हजार तथा २१ किलोमिटर हाफ म्याराथनमा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने खेलाडीलाई रु ३५, २५ र १५ हजार पुरस्कार दिइने उत्तरपश्चिम पृतना हेडक्वार्टर सुर्खेतले जनाएको छ । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>