राजनीति

माओवादीको विधान अधिवेशनमा आज अध्यक्ष प्रचण्डले जवाफ दिने

Banner

काठमाडौं, फागुन ३–

नेकपा माओवादी केन्द्रको विधान अधिवेशन आज सकिँदैछ। तीन दिनदेखि जारी अधिवेशन आज सक्ने माओवादीको तयारी छ।

विधानको मस्यौदामाथि २० वटा समूहमा छलफल भएकोमा बुधबार १३ समूहको निष्कर्ष सकिएको छ। बाँकी ७ समूहको निष्कर्ष आज राखिनेछ। समूहको निष्कर्ष प्रस्तुत गर्न एक समूहलाई १० मिनेटको समय दिइएको छ।

काठमाडौंको प्रज्ञा भवनमा बिहान ११ बजे सुरु हुने अधिवेशनमा समूहगत छलफलका निष्कर्ष पेस गरिसकेपछि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिने विधान मस्यौदा संयोजक पम्फा भुसालले जानकारी दिइन्।

माओवादीका नेता तथा कार्यकर्ताहरुले पार्टीको नाम र चुनाव चिह्न फेर्नुपर्ने सुझाव दिएका छन्। अधिवेशनमा समूहगत छलफलको निष्कर्ष सुनाउने क्रममा नेताहरुले पार्टीको नाम नै फेर्न सुझाव दिएका हुन्।

समूहका संयोजकहरुले पार्टीको अहिलेको नाम उपयुक्त नभएको भन्दै समाजवादी चरित्रको अर्को नाम राख्नुपर्ने माग गरेका थिए। चुनाव चिह्न गोलाकारभित्र हँसिया हथौडा असजिलो भएको भन्दै उनीहरुले सजिलो खालको अर्को चुनाव चिह्न राख्न सुझाव दिएको भुसालको भनाइ छ।

नेताहरुले पार्टीको नाम फेर्ने विषय उठाएका छन् भने माथिदेखि तल्लो तहसम्म कार्यकाल तोकिनुपर्ने सुझाव पनि आएको छ। हाल प्रस्तुत गरिएको विधानको मस्यौदामा कार्यकाल तोकिएको छैन। यस्तै, केन्द्रदेखि तल्लो तहसम्मै प्रत्यक्ष निर्वाचन प्रणाली लागु गर्नुपर्ने विषय पनि सहभागीहरुले उठाएका छन्।

विधान अधिवेशनले पार्टीको विधान परिमार्जन गर्नेछ। विधानमार्फत सांगठनिक संरचनामा परिवर्तन गर्न खोजेको माओवादीले केन्द्रीय समितिको आकार पनि घटाउने तयारी छ।

सम्मेलनमा केन्द्रीय सदस्य, वैकल्पिक केन्द्रीय सदस्य, तीन केन्द्रीय आयोगका सदस्य, सात भौगोलिक र तीन गैरभौगोलिक प्रदेशका पदाधिकारी तथा जनवर्गीय संगठनका पदाधिकारी सहभागी छन्।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>