राजनीति
दुर्गा प्रसाईंको आन्दोलनलाई राप्रपाको नैतिक समर्थन छः प्रवक्ता श्रेष्ठ

काठमाडौं, फागुन १-
व्यवसायी दुर्गा प्रसाईँले राजसंस्था पुनर्स्थापना लगायतका एजेन्डाहरू अघि सार्दै गर्न लागेको आन्दोलनलाई राप्रपाले नैतिक समर्थन गर्ने भएको छ । ‘नागरिक बचाउ महाअभियान’ को वार्षिकोत्सवका अवसरमा काठमाडौंबाटै आन्दोलनको संखघोष गर्न लागेका प्रसाईँलाई राप्रपाले नैतिक समर्थन गर्ने भएको हो ।
आन्दोलनको अघिल्लो दिन प्रसाईँल राजसंस्थावादी प्रमुख राजनीतिक शक्तिको रूपमा रहेको राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनलाई भेटेका थिए । भेटमा उनले आफ्नो आन्दोलनलाई सक्रिय रुपमा साथ दिन अनुरोध गरेका थिए । उनीहरुबीच आगामी दिनमा सडक आन्दोलनमा सहकार्यको विषयमा पनि छलफल भएको छ ।
राप्रपा प्रवक्ता मोहन श्रेष्ठले प्रसाईँसँग सहकार्यको गृहकार्य गर्न राप्रपाले डा. धवलशम्शेर राणा र हेमजंग गुरुङको वार्ता समिति बनाएको जानकारी दिए ।
श्रेष्ठले भने, ‘उहाँहरूसँग सहकार्यको छलफल सुरु भएको छ । आजको आन्दोलनमा राप्रपाका कार्यकर्ताहरू सहभागी हुन सक्छन् । नेताहरू भने संस्थागत रुपमा सहभागी हुने छैनन् ।’
प्रसाईँको आन्दोलनलाई राप्रपाले नैतिक समर्थन गर्ने पनि श्रेष्ठले बताए । ‘राजसंस्था, हिन्दू राज्यका पक्षमा आन्दोलन गर्ने कुनै पनि शक्तिलाई हाम्रो नैतिक समर्थन रहन्छ, उहाँहरूलाई पनि छ,’ श्रेष्ठले भने ।

























