राजनीति
कोशीमा मन्त्रिमण्डल विस्तार

विराटनगर, माघ २६-
दोस्रो प्रदेशसभाको निर्वाचनपछि पहिलो पटक कोशी प्रदेश सरकारका सबैजसो मन्त्रालयले राजनीतिक नेतृत्व (मन्त्री) पाएका छन् । वर्षैभरि अस्थिर बनेको प्रदेशका सबै मन्त्रालयले मन्त्री पाएपछि प्रदेश सरकारका काम कारबाहीले गति लिने विश्वास लिइएको छ ।
मुख्यमन्त्री केदार कार्कीले शुक्रबार (आज) मन्त्रीमण्डलको संख्या १० पुर्याएका छन् । मुख्यमन्त्री नियुक्त भएको चार महिना पुग्नलाग्दा कार्कीले बल्ल सरकारलाई पूर्णता दिएका हुन् ।
जसमा स्वास्थ्य मन्त्रालयमा प्रदिपकुमार सुनुवार, उद्योग कृषि तथा सहकारी मन्त्रीमा रामकुमार खत्री, खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालयमा नारायण बुर्जा मगर, सामाजिक विकास मन्त्रीमा राजेन्द्र कार्की, आर्थिक मामिला तथा योजना मन्त्रालय राज्यमन्त्रीमा इन्दिरा थापा र आन्तरिक मामिला तथा कानुन मन्त्रालयको राज्यमन्त्रीमा सुनिताकुमारी गुरुङ (राम) नियुक्त भएका छन् ।
मुख्यमन्त्री कार्कीले आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी भने आफैँले राखेका छन् । नवनियुक्त मन्त्रीहरु सुनुवार, खत्री, राज्यमन्त्रीद्वय थापा र राम कांग्रेसका हुन् । उनीहरुमध्ये सुनुवार मात्रै कांग्रेस संस्थापन पक्षका हुन् भने अन्य तीन जना कार्कीलाई मुख्यमन्त्री बनाउनका लागि विद्रोह गर्ने ८ सांसदमध्येकै हुन् ।
यस्तै माओवादीबाट भने राजेन्द्र कार्की र मगर मन्त्री नियुक्त भएका हुन् । वरीयतामा मुख्यमन्त्रीपछि प्रदिपकुमार सुनुवार, राजेन्द्र कार्की, शमशेर राई, गणेशप्रसाद उप्रेती, कमल प्रसाद जबेगु, रामकुमार खत्री, नारायण बहादुर मगर, इन्दिरा थापा र सुनिताकुमारी गुरुङ (राम) रहेका छन् ।

























