देश/प्रदेश

वैदेशिक रोजगारीपछि बाख्रापालनमा रमाएका बुलिङटारका केशवबहादुर

Banner

नवलपरासी,माघ १३-

नवलपरासी (बर्दघाट सुस्तापूर्व) को बुलिङटार गाउँपालिका–३ का केशवबहादुर चितौरे मगर हिजोआज बाख्राको रेखदेखमा व्यस्त हुनुहुन्छ ।

पन्ध्र वर्ष वैदेशिक रोजगारी गरी फर्किनुभएका केशवबहादुरले अहिले गाउँघरमा व्यावसायिक बाख्रापालन गरेर प्रशस्त आम्दानी गरिरहनुभएको छ । “पन्ध्र वर्ष कुवेतमा रोजगारी गरेँ, सधैँ परिवारसँग बिछोडिएर विदेश बस्न मन लागेको थिएन”, उहाँले भन्नुभयो, “स्वदेश फर्केपछि रु छ लाख लगानी गरेर घरमा व्यावसायिक बाख्रा पाल्न थालेको हुँ ।”

विदेशमा मासिक ५० हजार कमाई गर्ने केशवबहादुरले अहिले सो बराबरको कमाई बाख्रापालनबाट हुने गरेको बताउनुभयो । कम लगानी र थोरै मेहनतमा प्रशस्त आम्दानी गर्न सकिने भएकाले बाख्रा पाल्ने सोच आएको उहाँको भनाइ थियो ।

“वार्षिक खसीबोका बिक्रीबाट रु चार लाखसम्म आम्दानी हुने गरेको छ,” केशवबहादुरले भन्नुभयो, “भैँसी, बुङ्गुर पनि पालेको छु । त्यस छुट्टै कमाई भइरहेको छ ।” अहिले खोरमा ४५ वटा बाख्रा रहेका उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार आगामी वर्ष बिक्रीका लागि तयार गर्नेगरी अहिले २५ वटा पाठापाठी हुर्किरहेका छन् ।

बाख्रालाई चाहिने दाना, पानी, घाँस, पराल सबै आफैँले गर्ने गरेको केशवबहादुरले बताउनुभयो । “जमुनापारि जातका बाख्रा पालेको छु । तीन वर्ष भयो, आम्दानी प्रशस्त भइरहेको छ । यसबाट जीविकोपार्जनमा सहज भइरहेको छ”, उहाँले भन्नुभयो, “एउटा खसी एक वर्षमा ४५ किलोसम्मको बनाएर बेच्ने गरेको छु । एउटा खसी बेच्दा रु २५–३० हजारसम्म पर्ने गरेको छ ।”

कालीगण्डकी करिडोरअन्तर्गतको गैँडाकोट रामपुर सडक खण्डसँगै जोडिएको घरमा केशवबहादुरले दुईवटा आधुनिक बाख्राको खोर बनाउनु भएको छ । अरूभन्दा छिटो आम्दानी हुने र मेहनत पनि कम लाग्ने भएकाले बाख्रा पाल्न थालेको उहाँको भनाइ थियो । “विदेश छाडेर आएपछि व्यावसायिक बाख्रापालन थालेको छु । यहीँ पेसालाई निरन्तरता दिँदै जाने हो”, उहाँले भन्नुभयो ।

घाँसका लागि दुई बिघा जमिनमा घाँस खेती गरेको केशवबहादुरले जानकारी दिनुभयो । “बर्खा मौसमलाई पनि हुने गरी पाखो बारीमा घाँस लगाएको छु । हिउँदका लागि घर नजिकैको खेतमा लगाएको छु”, उहाँले भन्नुभयो । कुवेतमा दैनिक १२ घण्टा श्रम गरेर फर्केको अनुभव अझै ताजा रहेको बताउँदै अहिले घरआँगनमा परिवारसँगै काम गर्न पाउँदा धेरै सहज भएको उहाँले अनुभव सुनाउनुभयो ।

बाध्यताले विदेश गएको भन्दै केशवबहादुरले गाउँघरमा आम्दानीका अवसर खोज्न सकिने बताउनुभयो । “विदेशमा गर्ने मेहनतको आधा मेहनत मात्र यहाँ गर्ने हो भने राम्रो कमाई हुने रहेछ”, उहाँले भन्नुभयो, “अहिलेका युवा पुस्तालाई काम सानो ठूलो हुँदैन भन्ने बुझाउन सके परदेशमा दुःख पाउने थिएनन् ।”

कृषि तथा पशुपालनमा विभिन्न अनुदान र सहुलियत पाइने सुनेको भए पनि अहिलेसम्म कहीँ कतैबाट सहयोग नपाएको केशवबहादुरले बताउनुभयो । उहाँले भन्नुभयो, “अनुदान अहिलेसम्म केही पनि पाएका छैनौँ । सरकारी अनुदान साना किसानका लागि अनुदान तथा तालिमको व्यवस्था गरे सहज हुने थियो ।” रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>

होमपेज केही सेकेण्डमा लोड हुनेछ।

  • Advertisement area
  • Skip this

Advertisement area