देश/प्रदेश

कसरी आयो बूढीगण्डकीमा लेदोसहितको बाढी ?

०
Banner

काठमाडाैं, असाेज २५-

२४ घण्टामा त्यस क्षेत्रमा पानी परेको छैन तर बाढी कसरी आयो ? बाढी आउनुका पछाडि विभिन्न कारण अनुमान गरिएको छ। तर यही कारण लेदोसहितको भयावह बाढी आयो भन्ने बारेमा विपद् भोगका स्थानीयदेखि सरकारी अधिकारीहरूले समेत यकिन गर्न सकेका छैनन्।

राष्ट्रिय विपद् तथा जोखिम व्यवस्थापन प्राधिकरणका प्रमुख डा. धर्मराज उप्रेतीका अनुसार हालसम्म बाढी आउनुको कारण यकिन भइसकेको छैन। तथापि स्थानीयसँगको कुराकानीका आधारमा केही कारण अनुमान गरिएको छ।

‘पहिरो गएर नदी थुनिएको जस्तो पनि देखिन्छ। माथिबाटै आएको हुनाले हिमपहिरो खसेर नदी थुनिएको र क्रमशः झर्दै, थुनिदै तल आएर ठूलो रूप लिएको पनि हुनसक्छ’, डा. उप्रेतीले भने, ‘स्थानीयसँग कुरा गर्दा हिमपहिरो हो कि भन्ने पनि छ।’

अहिले उक्त क्षेत्रमा ड्रोनसहितको टोली पठाइएको बताउँदै उनले ड्रोनको इमेजहरू आएपछि केही निष्कर्षमा पुग्ने बताए। यस्तैगरी अन्तराष्ट्रिय स्याटेलाईट इमेजहरु पनि संकलन गरिरहेको डा. उप्रेती बताउँछन्। आज साँझसम्म मूल कारण पत्ता लाग्ने अनुमान गरिएको छ।

समग्रमा यतिखेरसम्म सुक्खा पहिरो गई नदी थुनिएर या हिमपहिरो नै भोटेकोशी, त्रिशूलीको जस्तै भएर आएको हुनसक्ने प्रारम्भिक अनुमानमा सरकारी अधिकारीहरू पुगेका छन्।

पछिल्लो २४ घण्टामा त्यस ठाउँमा पानी परेको छैन। तर केही दिनदेखि पानी परेकोले त्यसले पहिरो ल्याएर नदी थुनिएको र अहिले फुटेको पनि हुनसक्ने सम्भावना छ। ‘यिनै अनुमानका आधारमा कारणहरु विश्लेषण गर्दैछौँ’ डा. उप्रेतीले थपे।

ठुलो भौतिक क्षति

बाढीले के कती मानवीय र भौतिक क्षती पुगे भन्ने पूर्ण विवरण आइसकेको छैन। डेढ महिनाअघि मात्रै रसुवा–भोटेकोशीको विनाशकारी बाढीले ठूलो जनधनको क्षति पुर्‍याएको थियो।

चुमनुब्रीगाउँपालिका– ३ पैयुँ र बगरका करिब ३५ घर बगाएको छ भने जगत्, सल्लेरी, दोभान र घट्टेखोलागाउँमा पनि क्षति पुगेको सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिएका छन्।

उनका अनुसार, बूढीगण्डकी बाढीले छ वटा पुल, दुई वटा मोटरेबल र चारवटा झोलुङ्गे पुल बगाएको छ।

आरुघाट र धादिङको त्रिपुरासुन्दरी तथा आरुघाटको सोती र मान्बु जोड्ने पक्की पुल बगेका छन्। बाढीले धार्चेगाउँपालिका १ र ३ जोड्ने बेलिब्रिज पनि बगाएको छ। यसैगरी, माछिखोला र केरौँजा जोड्ने झोलुङ्गे पुल, चुमनुब्रीको ठाडो भर्‍याङ र जगत जोड्ने पुल र सिर्दिबासको घट्टेखोला र फिलिमजोड्ने झोलुङ्गे पुल पनि बगेका छन्।

प्राधिकरणका प्रमुख डा. उप्रेतीका अनुसार, पुल बगाएपछि धादिङ जिल्लासँग पूर्णरूपमा सम्पर्क टुटेर ठुलो संकट हुने डर पैदा भएको छ। ‘यसैकारण सडक महानिर्देशक सहितको टिम फिल्डमा परिचालन भइसकेको छ।

उहाँहरूले फिल्डको अवस्था हेरेर तुरुन्तै पुल निर्माण शुरु गरिहाल्ने गरी हामी काम गर्दैछौँ’, उनले भने, ‘आज भने खोज र उद्धारको काममा बढी केन्द्रित छौँ।’

विज्ञका अनुसार, यसअघि त्यस क्षेत्रको सिरानमा कुनै पनि खालको जोखिमको आँकलन गरिएको थिएन। तर एकाएक आएको बाढीले जोखिम व्यवस्थापनमा चुनौती थपिदिएको छ। भोटेकोशी, बुढिगण्डकीको बाढीले हिमनदी प्रणालीहरूमा वस्तीदेखि लिएर सबै कुरा खाली नै गर्नुपर्छ भन्ने भन्ने संकेत गर्दैछ।

‘सरकारले अब त्यही लाइनमा नयाँ कोड अफ कन्डक्ट (बिल्डिङ कोड) हरू लागु गर्ने र बस्तीहरू सार्ने काम गर्नुपर्ने भएको छ। अन्यथा ठूलो मानवीय क्षति हामीले भोग्न सक्छौं भन्ने देखिएको छ’ डा. उप्रेतीले सुनाए।

बढ्दो जलवायु परिवर्तनका कारण तापक्रम वृद्धि हुँदै गर्दा हिमपहिरोका घटनाहरु बढिरहेको छ। हिमपहिरो जुनसुकै ठाउँमा जान सक्छन्। ‘हाम्रो सिरानमा २३ वटा हिमताल छन्, तिनमा पनि यसको असर हुनसक्छ, तर अहिले हिमताल भन्दा पनि हिमपहिरोको जोखिम बढेर गएको छ’, उनले भने।

राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले गोरखाको बुढीगण्डकीमा आएको बाढीको अवस्था निरन्तर मोनिटरिङ, विश्लेषण गर्दै आवश्यक निकायमा सूचना र निर्देशन दिइरहेको कार्यकारी प्रमुख डा. उप्रेतीले बताए।

प्राधिकरणको मनसुन प्रतिकार्य कमाण्ड पोस्टको बैठकमा बुढीगण्डकी क्षेत्रमा गएको बाढीको उद्गम क्षेत्रमा बर्षाको अवस्थाबारे जानकारी गराउँदै नेपाल मौसम विज्ञान विभागकी महानिर्देशक डा. अर्चना श्रेष्ठले आज राती पानी परेर भन्दा पनि हिजो अस्तीको पानीले बाढी आउने अवस्था गराएको हुनसक्ने बताएकी छिन्।

अक्टूबर ९ (अस्ती) मा बारपाकमा १५ मिलिमिटर प्रति घण्टाका दरले १० मिनेट बर्षा भएको थियो। यही बर्षाले पहिरो जाने अवस्थाका सम्बन्धमा थप अध्ययन गर्न बाँकी रहेको उनले बताइन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>