खेलकुद

कर्णालीको खेलकुद गौरव बन्दै प्रदेश रंगशाला

०
Banner

काठमाडौँ, कात्तिक १७ –

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा निर्माण भएको प्रदेश रंगशाला अहिले कर्णालीको खेलकुद गौरव र पहिचानको नयाँ आधार बनेको छ । आधुनिक खेल पूर्वाधारसहित निर्माण गरिएको यस रंगशालाले कर्णालीलाई राष्ट्रिय खेलकुदको महत्वपूर्ण गन्तव्यका रूपमा स्थापित गर्ने अपेक्षा गरिएको मुख्यमन्त्री मंगलवहादुर शाहीले बताए ।

दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको मुख्य आयोजना स्थलका रूपमा रहेको प्रदेश रंगशाला करिब १० हजार दर्शक अट्ने क्षमताको छ । प्रदेश गौरवको आयोजनाका रूपमा निर्माण गरिएको रंगशालामा फुटबल मैदान, एथलेटिक्स ट्र्याक, पौडी पोखरी, कभर्ड हललगायत विभिन्न खेलका पूर्वाधार तयार गरिएका छन् ।

रंगशालामा अन्तर्राष्ट्रिय मापदण्डअनुसारको फुटबल मैदान र आठ लेनको एथलेटिक्स ट्र्याक निर्माण गरिएको छ । त्यस्तै खेलाडी, रेफ्री, सञ्चारकर्मी तथा स्वास्थ्य सेवाका लागि आवश्यक कक्षसमेत बनाइएको छ । पौडी पोखरी र बहुउद्देश्यीय कभर्ड हलले रंगशालालाई विभिन्न खेल गतिविधि सञ्चालन गर्न सकिने बहुउपयोगी खेल परिसरका रूपमा विकास गरेको छ ।

करिब एक अर्ब ५९ करोड ४७ लाख रुपैयाँ लागतमा निर्माण गरिएको यो रंगशाला कर्णाली प्रदेशको खेलकुद पूर्वाधार विकासमा ठूलो उपलब्धिका रूपमा हेरिएको छ । यसले फुटबल र एथलेटिक्समा मात्र नभई पौडी, भलिबल, बास्केटबल, ह्यान्डबललगायत खेलको अभ्यास र प्रतियोगिता सञ्चालनका लागि समेत आधार तयार गरेको छ ।

दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको उद्घाटन तथा समापन समारोह यही रंगशालामा आयोजना गर्ने तयारी गरिएको छ । प्रतियोगिताको तयारीसँगै

रंगशालाले राष्ट्रियस्तरमा चर्चा पाउन थालेको छ । सोमबार रंगशालाबाटै दशौँ राष्ट्रिय खेलकुदको ३० दिने काउन्टडाउनसमेत सुरु गरिएको थियो ।

रंगशालाको निर्माणले कर्णालीका खेलाडीका लागि आफ्नै प्रदेशमा आधुनिक खेल पूर्वाधार प्राप्त गर्ने अवसर सिर्जना गरेको छ । यसअघि व्यवस्थित खेल मैदान र प्रशिक्षण पूर्वाधारको अभाव झेल्दै आएका खेलाडीले अब नियमित अभ्यास र प्रतिस्पर्धाका लागि थप अवसर पाउने अपेक्षा गरिएको छ ।

प्रदेश रंगशालाले खेलकुदसँगै आर्थिक तथा पर्यटन गतिविधि विस्तारमा समेत योगदान पु¥याउन सक्ने सम्भावना रहेको स्थानीयको भनाइ छ । राष्ट्रियस्तरका प्रतियोगिता आयोजना हुँदा देशका विभिन्न प्रदेशबाट खेलाडी, प्रशिक्षक, खेल पदाधिकारी र दर्शक सुर्खेत आउनेछन् । यसले होटल, यातायात, व्यापार तथा स्थानीय व्यवसायमा आर्थिक गतिविधि बढाउन सहयोग पुग्ने व्यवसायीहरुले अपेक्षा गरेका छन् ।

कर्णाली प्राकृतिक सौन्दर्य, सांस्कृतिक विविधता र पर्यटकीय सम्भावनाले भरिपूर्ण प्रदेश हो । यस्तो प्रदेशमा आधुनिक खेल पूर्वाधार निर्माण हुनुले खेलकुदलाई पर्यटनसँग जोड्ने अवसरसमेत सिर्जना गरेको छ ।

प्रदेश रंगशालाको वास्तविक उपलब्धि भने प्रतियोगिता सकिएपछि अझ स्पष्ट हुनेछ । यसलाई नियमित खेल प्रशिक्षण, राष्ट्रिय प्रतियोगिता तथा खेलाडी उत्पादनको केन्द्रका रूपमा सञ्चालन गर्न सके कर्णालीको खेलकुद विकासमा दीर्घकालीन योगदान पुग्ने सामाजिक विकासमन्त्री जीतबहादुर मल्लले बताए ।

दशौँ राष्ट्रिय खेलकुद कर्णालीका लागि प्रतियोगिता आयोजना गर्ने अवसर मात्र नभई आफ्नो क्षमता, पूर्वाधार र सम्भावना राष्ट्रियस्तरमा चिनाउने अवसर पनि हो । प्रदेश रंगशाला त्यसैको महत्वपूर्ण प्रतीक बनेको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>