देश/प्रदेश

टोड्के–धौलागिरि सांस्कृतिक पानोरमा पदमार्गको अध्ययन सुरु

०
Banner

म्याग्दी, माघ १३-

गण्डकी प्रदेशको म्याग्दी र मुस्ताङ जोड्ने टोड्के–धौलागिरि सांस्कृतिक पानोरमा पदमार्गको अध्ययन थालिएको छ ।

गण्डकी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको सहयोग, नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालय पोखरा र रघुुगङ्गा गाउँपालिकासँगको समन्वयमा ट्रेकिङ एजेन्सिज एशोसियसन अफ नेपाल (टान) गण्डकीको आयोजनामा शनिबारदेखि पदमार्गको खोज, अनुसन्धान तथा प्रवद्र्धन कार्यक्रम सुरु भएको हो ।

म्याग्दीको रघुुगङ्गा, मङ्गला गाउँपालिका र बेनी नगरपालिकाको सिमानामा रहेको पर्यटकीयस्थल टोड्केमा गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री दिपेन्द्र थापा र सचिव कुमानसिंह गुुरुङले अध्ययन टोलीलाई बिदाइ गर्नुभयो ।

पर्यटन व्यवसायी, मन्त्रालयका कर्मचारी, प्राविधिक र पत्रकारको २० जनाको अध्ययन टोली शुुक्रबार साँझ पोखरादेखि बेनी हुँदै टोड्के पुुगेको थियो । टोड्केदेखि मालिका धुरी–ठाडाखानी–कुुइने–चौरखानी–घ्यासीखर्क–सुगुरथला, कछुवा ओडार–धौलागिरि आधार शिविर–कालीबराह हुँदै मुस्ताङको लेते जोड्ने पदमार्गको अध्ययन गर्ने टान गण्डकीका अध्यक्ष धर्मराज पन्थीले जानकारी दिनुभयो ।

“गण्डकी प्रदेशमा आउने पर्यटकका लागि नयाँ गन्तव्यको विकास तथा उनीहरुको बसाइ लम्ब्याउने उद्देश्यले पदमार्गको खोजी र अध्ययनमा आएका हौँ”, उहाँले भन्नुभयो, “धौलागिरि हिमालको फेदीमा रहेको नेपालका अल्पसङ्ख्यक छन्त्याल र आदिवासी जनजाति मगर समुदायको बसोबास रहेको ठाडाखानी, कुइनेमङ्गले बस्ती समेटिएको यो पदमार्गलाई धौलागिरि पानोरमा ट्रेक नामकरण गरेका छौँ ।”

धवलागिरि हिमशृङ्खला र आधार शिविरका साथै मगर, छन्त्याल संस्कृति, वनजङ्गल, ग्रामीण जीवनशैली, वन्यजन्तु, वनस्पति, पक्षी, ताल, झरना, धार्मिकस्थल आकर्षणका रुपमा रहेको यो पदमार्ग सात दिनमा पूरा गर्न सकिनेछ । क्याम्पिङ पदयात्राका लागि उपयुक्त मानिएको छ ।

यसअघि पहिचान भएको धौलागिरि सेञ्चुुरी र आइसफल पदमार्गमा छरिएर रहेका बस्तीलाई जोड्न पानोरमा पदमार्गको अवधारणा अघि सारिएको हो । टोड्केदेखि मालिका धुरी ठाडाखानी कुइने हुदै घ्यासीखर्क पुगेपछि पानोरमा पदमार्ग धौलागिरि सेञ्चुरी र आइसफलमा जोडिनेछ ।

मन्त्री थापाले धवलागिरि हिमाललाई आधार मानेर पर्यटकीय पदमार्गको पहिचान, पूर्वाधार निर्माण र प्रवद्र्धनमा प्राथमिकता दिएको बताउनुुभयो । मन्त्रालयका सचिव गुुरुङले पर्यटकको बसाइ लम्ब्याउनका लागि नयाँ गन्तव्यको पहिचानमा जोड दिएको बताउनुभयो । उहाँले पोखराको फेवाताल पारीको रानीवनमा राउन्ड फेवा, भ्यु फेवा पदमार्ग निर्माण गर्न लागिएको पनि बताउनुुभयो । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>