चितवन विशेष

चितवन निकुञ्जभित्र दुई वटा गैँडा मारेको आरोपमा आठ जना पक्राउ

Banner

चितवन, मंसिर १४-
चितवन राष्ट्रिय निकुञ्जको भित्री भागमा खाल्टोमा पारी दुईवटा गैँडा मारेको आरोपमा आठ जना पक्राऊ परेका छन् । उनीहरूलाई चितवनको राप्ती नगरपालिकाबाट यही मंसिर ९ र ११ गते पक्राउ गरिएको हो । पक्राउ पर्नेमा २८ देखि ७७ वर्ष उमेर समूहका पुरुष रहेको चितवन राष्ट्रिय निकुञ्जले बिहिबार पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिएको छ ।

निकुञ्जको पूर्वी क्षेत्रमा पर्ने चपरचुली सुरक्षा चौकीबाट दुई किलोमिटर दक्षिण–पूर्वतर्फ कात्तिक ३० गते खाल्डोमा पारेर दुईवटा गैँडा मारिएका थिए । अन्दाजी १८ र ६ वर्षका पोथी गैँडा मारिएपछि निकुञ्ज प्रशासन, नेपाली सेना र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले तस्कर पक्राउ गर्न खटिएको थियो । मङ्सिर ९ गते पूर्वी चितवनको राप्ती नगरपालिका–६ बाट छ र ११ गते सोही नगरपालिकाको वडा नम्बर ५ बाट दुई जना पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा मकवानपुरका ३३ बर्षिय रमेश खाती, चितवनका स्थित राप्ती नगरपालिका ११ का ४२ वर्षिय आइते सिंह मोक्तान, मकवानपुरस्थित राक्सीराङ ९ का ४४ वर्षिय सम्शेर थीङ, राक्सीराङ ६का ५६ वर्षीय थीङ बाजे भन्ने सीताराम थीङ, रोल्पा सुनछहारी गाउँपालिका ६ का २८ वर्षिय अर्जुन रोका, गोरखाको बारपाक गाउँपालिका घर भई भरतपुर बस्ने ७७ वर्षीय धन बहादुर गुरुङ, राप्तीका ४० वर्षिय उन बहादुर स्यन्ताङ र मनहरीका स्याङ्बो भन्ने इन्द्र बहादुर तामाङ रहेका छन् । पक्राउ परेका रमेश खाती मुख्य योजनाकार रहेको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक डा.सिन्धुप्रसाद ढुंगानाले जानकारी दिए ।

रमेशलाई एकपटक चोरीको आरोपमा सोधपुछका निकुञ्ज ल्याइएको थियो । तर पुष्टि हुन नसकेपछि उनी फर्किएका थिए । मोक्तान, स्याङतान र घलेले गैंडा मारेको उनले बताए । अन्य बिक्रि वितरण गर्ने मुख्य योजनाकार रहेका छन् । उनीहरुको साथबाट दुई थान खाग, कालो झोला एक थान, भरुवा बन्दुक एक थान, बिड नभएको बञ्चरो एक थान, चक्कु एक थान, भरुवा बन्दुकमा प्रयोग हुने फलामको टुक्रा पाँच थान, गुलेली एक थान, टर्च लाईट एक थान, डिक्ची (भाडा) एक थान, ब्याङकेट दुई थान र दुई वटा मोटरसाइकल समेत बरामद गरेको थियो ।

उनीहरुले २० दिन लगाएर गैंडा मारेको ढुंगानाले जानकारी दिए । ‘गैंडा मार्नका लागि उनीहरुले सानो मचान बनाएर बसेको देखिन्छ,’ उनले भने ‘खाल्टो खन्दा घाँस हालेर मिलाएका छन् ।’ उनीहरु एक किलोमिटर टाँढा बसेको देखिन्छ । घट्ना आर्मी ब्यारेकबाट करिव तीन किलोमिटरको दुरीमा भएको हो । ‘त्यहाँ आर्मी पाँच दिन अगाडि पुगेको छ’ उनले भने ‘सुरक्षामा महत्व नदिएको भन्न मिल्दैन ।’ निकुञ्ज भित्र आगो फुक्नेदेखि मचान बनाउनेसम्मको काम उनीहरुले गरेका छन् ।
निकुञ्जको गस्ती भइरहने क्षेत्रमा गैँडा मारिएपछि वन तथा वातावरण मन्त्रालयले अध्ययनका लागि टोली गठन गरेको थियो । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उपमहानिर्देशक बेदकुमार ढकालको संयोजकत्वमा गठित टोलीले स्थलगतरूपमा अध्ययन गरेर यही मङ्सिर १२ गते विभागका महानिर्देशक ढुङ्गानालाई प्रतिवेदन बुझाएको छ । तर त्यो प्रतिवेदन भने अनुसन्धानको कारण देखाई सार्वजनिक गरिएको छैन ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>