देश/प्रदेश

अस्थायी आवास निर्माण सरलीकृतः रकम पठाउने कार्य द्रुतमार्गबाट

Banner

काठमाडौँ, मंसिर १४-

सरकारले भूकम्प प्रभावितको अस्थायी आवास निर्माणका लागि रकम निकासासम्बन्धीको कार्यविधिलाई सरलीकृत गरेसँगै रकम निकासाको काम तीव्र पारेको छ । माग हुनेबित्तिकै निकासा गर्नेगरी तयारी गरिएको छ ।

हालै सरकारले “भूकम्प प्रभावित घरपरिवारलाई अस्थायी आवास निर्माण अनुदान कार्यविधि, २०८० लाई केही संशोधन गर्दै सरल बनाएपछि आजसम्ममा भूकम्पपीडितको अस्थायी आवास निर्माणका लागि पहिलो किस्ताबापत रु दुई करोड ५३ लाख ५० हजार रकम निकासा भएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार लाभग्राही निश्चित भएका एक हजार १४ लाभग्राहीका लागि उक्त रकम निकासा गरिएको हो ।

प्राधिकरणका प्रवक्ता ध्रुवबहादुर खड्काले उक्त रकम लाभग्राहीको हातमै पुगिसकेको जानकारी दिनुभयो । कार्यविधि संशोधन गर्दै सरकारले बैंक खातामा दिनुपर्ने अनिवार्य व्यवस्थालाई संशोधन गरी हातमै दिन सकिने गरी कार्यविधि बनाएको थियो ।

सोही आधारमा रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकाका पहिचान भएका ६४ घरपरिवार ९लाभग्राही०का लागि रु १६ लाख, रुकुम पश्चिमको आठबिसकोट नगरपालिकाका पाँच सय लाभग्राहीका लागि रु एक करोड २५ लाख र रुकुम पश्चिमकै सानीभेरी गाउँपालिकाका चार सय ५० लाभग्राहीका लाग रु एक करोड १२ लाख ५० हजार रकम निकासा भएको प्रवक्ता खड्काले जानकारी दिनुभयो ।

बाजुरा जिल्लाको पाँच स्थानीय तहबाट एक हजार तीन सय ६१ लाभग्राही कायम गरी जिल्लाबाट रकम निकासाको माग भइआएका र उनीहरूका लागि पनि छिट्टै रकम निकासा हुने उहाँले बताउनुभयो ।

सरकारले चिसोको समयमा छिटो लाभग्राहीको अस्थायी घर निर्माण गर्नुपर्ने भएकाले सोहीअनुसार रकम निकासा तीव्र पारिएको जनाएको छ । लाभग्राही निश्चित भएर रकम माग हुनेबित्तिकै अन्य क्षेत्रका लाभग्राहीका लागि पनि अस्थायी आवास निर्माणबापतको पहिलो किस्ताको रकम निकासा हुने पनि उहाँले बताउनुभयो । पहिलो किस्ताबापत प्रतिलाभग्राहीले रु २५ हजार पाउनेछन् । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>

होमपेज केही सेकेण्डमा लोड हुनेछ।

  • Advertisement area
  • Skip this

Advertisement area