देश/प्रदेश

कपिलवस्तुमा चामल नियन्त्रणमा लिएपछि व्यवसायीद्वारा आत्मदाहको प्रयास, प्रहरीद्वारा उद्धार

०
Banner

कपिलवस्तु, असोज २९ –

कपिलवस्तुको कृष्णनगर नगरपालिका–२ स्थित बैंक रोडमा बजार अनुगमनका क्रममा प्रहरीले चामलसहितको पिकअप नियन्त्रणमा लिएपछि एक व्यवसायीले आत्मदाहको प्रयास गरेका छन् ।

प्रहरीका अनुसार गल्ला पसल सञ्चालन गर्दै आएका महेश अग्रहरीले आफूले ल्याएको चामल प्रहरीले नियन्त्रणमा लिएर भन्सार पठाएपछि शरीरमा मट्टितेल छर्केर आगो लगाउने प्रयास गरेका हुन् । तत्कालै प्रहरीले उनलाई रोकेपछि सम्भावित दुर्घटना टरेको थियो ।

बजार अनुगमनका क्रममा अग्रहरीले ल्याएको ६० बोरा चामल आवश्यक कागजात नभेटिएको भन्दै नियन्त्रणमा लिइएको थियो । चामलको बिलबिजक रहेको दाबी गरिए पनि अनुगमन टोलीले आवश्यक कागजात पूरा नभएको निष्कर्षसहित थप कारबाहीका लागि भन्सार पठाएको बताइएको छ ।

चामल भन्सार चलान भएपछि जरिवाना तिर्नुपर्ने चिन्ताका कारण अग्रहरी आवेगमा आएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक रिपेन्द्र सिंहले जानकारी दिए ।

घटना आज बिहान करिब ११ बजे भएको हो । मट्टितेलको असर देखिएपछि अग्रहरीलाई उपचारका लागि सुरुमा स्थानीय अस्पताल लगिएको थियो । मुटुसम्बन्धी समस्या रहेको जानकारीपछि उनलाई थप उपचारका लागि रुपन्देहीको भैरहवास्थित मेडिकल कलेज पठाइएको प्रहरीले जनाएको छ ।

डीएसपी सिंहका अनुसार आगो लाग्नुअघि नै प्रहरीले उनलाई सुरक्षित गरेको थियो । हाल उपचाररत अग्रहरीको अवस्था सामान्य रहेको प्रहरीले जानकारी दिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>