समाचार

तीन वर्षमा बनिसक्नुपर्ने पुल १२ वर्षमा निर्माण सम्पन्न

Banner

स्याङ्जा, मंसिर १४-

चीन र भारतसँग सीधा सम्पर्क जोड्ने कालीगण्डकी ट्रस ब्रिजको निर्माण कार्य सम्पन्न भएको छ । गण्डकी प्रदेशको चापाकोट–९, निर्दिम र लुम्बिनी प्रदेशको रामपुर–६, भुजात जोड्ने कालीगण्डकीको पुल निर्माण व्यवसायीले निर्माण थालेको १२ वर्षमा सम्पन्न गरेका छन् ।

पुलको निर्माणसँगै ज्याग्दी खोला कोरिडोर हुँदै आँधीखोला कोरिडोर, पर्वत, मुक्तिनाथ हुँदै चीन र भारत आउन जान सक्ने अवस्था बनेको छ ।

२०६८ साल असार २६ गते कन्काई/मिलिनियम/नेपाल प्रगति जेभीले निर्दिमघाट पुल निर्माणको सम्झौता गरेको थियो । सडक डिभिजन कार्यालय पाल्पाबाट तीन वर्षमा काम सक्ने गरी निर्माण कम्पनीले काम थालेकोमा छ पटक म्याद थपेर सम्पन्न भएको हो । तीन स्पानको १५० मिटर लामो निर्दिमघाट पुल निर्माण कम्पनीले १२ करोड ४८ लाख रुपियाँमा सम्झौता गरेको थियो ।

सम्झौता गरेर काम थालेको निर्माण कम्पनीले पुलको दुई छेउका पिल्लर बनाएर बिचको पिल्लर बनाउने क्रममा समस्या देखिएको थियो । सडक डिभिजनसँग वेल फाउन्डेसन डिजाइनमा काम अगाडि बढेकोमा बिचका दुई पिल्लरको वेल १५/१५ मिटर जमिनमुनि दब्नुपर्नेमा पाँच मिटरभन्दा तल चट्टान भेटिएपछि निर्माण थालेको छ महिनापश्चात काम गर्ने प्रक्रिया रोकिएको थियो ।

पुल सम्झौताको साढे सात वर्षमा २०७६ साल फागुन १५ गते गोरखापत्रमा डिजाइनको त्रुटिबाट मोटरेबल पुल अलपत्रको समाचार प्रकाशन भएपछि पुल महाशाखाले पुनः डिजाइन गरेको थियो ।

समाचार प्रकाशनको एक वर्षपश्चात डिजाइन परिवर्तन भएको थियो भने २०७८ सालबाट निर्माण व्यवसायीले काम थालेका थिए । पुल महाशाखाले वेल फाउन्डेसनको सट्टामा पाइल फाउन्डेसनमा निर्माण गर्ने गरी डिजाइन गरेपछि निर्माणको कामले पूर्णता पाएको हो ।

निर्माण व्यवसायी यामबहादुर श्रेष्ठले सम्झौता अनुसार नौ वर्ष पहिला पुल निर्माण सकेर सरकारलाई हस्तान्तरण गर्नुपर्नेमा डिजाइनले आफूहरूले काम गर्न नसकेको र डिजाइन नयाँ बनेसँगै पुल हस्तान्तरणको अवस्थामा पुगेको बताए । उनले डिजाइनमा त्रुटि भएको समयमै जानकारी दिए पनि परिवर्तन नहुँदा पाँच करोड रुपियाँ क्षति भएको र पैत्रिक सम्पत्ति बेचेर पुल निर्माण गर्नु परेको दाबी गरे । यो समाचार गोरखापत्र दैनिकमा छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>