राजनीति

बैतडी पुगेर ओलीले भने ‘देशमा सुशासन कायम हुन सकेन’

Banner

बैतडी, मङ्सिर १३-
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले देशमा सुशासन कायम हुन नसकेको आरोप लगाउनुभएको छ ।

बैतडीको पाटनमा एमालेले बुधबार आयोजना गरेको अभिनन्दन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले देशमा सुशासन कायम र रोजगारी सिर्जना हुन नसकेको बताउनुभयो । उहाँले भन्नुभयो, “देशमा सुशासन, रोजगारी सिर्जना, गुणस्तरीय शिक्षा दिन सकिएको छैन ।”

सङ्कल्प यात्राको बेला देश विकास किन हुन सकेन भनेर स्थानीयसँग छलफल गरिने र देशको विकास एमालेको नेतृत्वमा मात्रै हुन्छ भन्ने सन्देश दिन सङ्कल्प यात्रा गरिन लागिएको उहाँले बताउनुभयो ।

अध्यक्ष ओलीले आजै देहीमाडौँमा कार्यकर्ता र शुभेच्छुकसँग भेटघाट र साँझ निङलाशैनी मन्दिरमा सन्ध्या आरतीमा सहभागी हुनुभयो । एमालेको बिहीबार सुरू हुने ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्रा’ को उद्घाटनका लागि उहाँ आज बैतडी आउनुभएको हो ।

सङ्कल्प यात्राको अध्यक्ष ओलीले बिहीबार बिहान झुलाघाटमा नेपाली झण्डा झण्डोत्तोलन गरेर शुभारम्भ गर्नुहुने कार्यक्रम रहेको एमाले बैतडीका जिल्ला कमिटी सचिव चक्र कार्कीले जानकारी दिनुभयो ।

सङ्कल्प यात्राको समुद्घाटनपछि त्रिपुरासुन्दरी मन्दिरको दर्शन, सहिद दशरथचन्द, बलदेव रिचपलेको शालिकमा माल्यार्पणको कार्यक्रम छ । त्यसपछि बिहान ११ बजे गोठलापानीमा विशाल आमसभाको आयोजना गरिएको छ । त्यसपछि साँझ खोडपेमा बझाङका नेता कार्यकर्तासँगको भेटघाट रहेको जनाइएको छ ।

यो यात्रा मध्यपहाडी लोकमार्ग केन्द्रित हो । सङ्कल्प यात्राका क्रममा स्थानीयसँग भेटघाट, सीमा समस्याका विषयमा छलफल र राष्ट्रिय एकताको सवल आधार निर्माण गर्ने उद्देश्यले अभियानको आयोजना गरिएको एमालेले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>