देश/प्रदेश

शान्ति बाटिकामा ‘काग’ सम्मेलन

Banner

काठमाडौँ, कात्तिक २५-

प्रत्येक वर्ष कात्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने यमपञ्चक अर्थात् तिहारको पहिलो दिन काग तिहारका अवसरमा काग सम्मेलन गरिएको छ ।

एकसय ७३ जीव जनावर तथा चराचुरुङ्गीको आवाज निकाल्ने कलाकार रमेश दुलाल ‘कागे’ले आज काठमाडौँ शान्ति बाटिकामा आयोजित पत्रकार सम्मेलनमा कागको आवाज निकालेर काग बोलाउँदै ‘बीसौँ काग सम्मेलन’ सम्पन्न गर्नुभयो । उहाँले १९ वर्षदेखि यसरी नै काग सम्मेलन गरिरहेको जानकारी दिनुभयो ।

“विशेषगरी तिहारको परम्परालाई जोगाइराखौँ र सकारात्मक सन्देश दिउँ भन्ने उद्देश्यले हरेक वर्ष काग सम्मेलन गरिरहेको छु”, दुलाले भन्नुभयो, “यसलाई आउँदा वर्षमा पनि निरन्तरता दिनेछु ।”

बिहान गरिएको सम्मेलनमा करिब ४० मिनेटसम्म उहाँले बोलाउनुभएको काग एकै ठाउँमा झुम्मिएका थिए । यद्यपि अघिल्ला वर्षमा जस्तो कागको सङ्ख्या नरहेको कलाकार दुलालले बताउनुभयो ।

उहाँले सम्मेलनको सुरुआत पश्चिम धनगढीबाट सुरु गर्नुभएको थियो । दाङ र इलाममा केही वर्ष काग सम्मेलन गरेपछि काठमाडौँमा गर्न थालिएको उहाँले जानकारी दिनुभयो ।

“सपनामा काग कराएको देखेपछि मैले आवाज निकाल्न सुरू गरेको हुँ । त्यसपछि काग तिहारमा सम्मेलन गर्ने गरेको छु”, कलाकार दुलालले भन्नुभयो । उहाँले मादल, सनाइ, सारङ्गी, पियानो, ड्रम सेट, मुर्चुङ्गा, गितारको धुनसमेत निकाल्ने गर्नुभएको छ । गाई, भैँसी र अन्य चराचुरुङ्गीको आवाज पनि दुरुस्तै निकाल्ने भएता पनि कलाकार दुलाललाई ‘काग’ को आवाज निकाल्ने व्यक्तिका रुपमा परिचित हुनुहुन्छ ।

राष्ट्रिय सङ्गीतकर्मी सङ्घको आयोजना तथा ह्याम्स हस्पिटल काठमाडौँ र सन्दकपुर गाउँपालिका इलामको सहआयोजना सम्मेलन गरिएको थियो । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>