धादिङ
धादिङमा राती ९ बजेपछि देउसी भैलो बन्द, प्लास्टिकका मालामा रोक

धादिङ,कात्तिक २२-
धादिङमा राती ९ बजेपछि देउसी भैलो खेल्न नपाइने भएको छ । जिल्ला प्रशासन कार्यालय धादिङले एक सूचना जारी गर्दै राती ९ बजेपछि देउसी भैलो लगायतका कार्यक्रम गर्न रोक लगाएको हो । सामाजिक तथा धार्मिक सद्भाव कायम गर्दै चाडपर्व सभ्य, सुरक्षित र मर्यादित रुपमा मनाउन प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैरेले आग्रह गरेका छन् । उनले जारी गरेको सूचनामा देउसी भैलो राती ९ बजेसम्म खेल्न र असभ्य, अमर्यादित तथा सामाजिक सद्भाव खल्ल पुग्ने गरी कार्यक्रम नगर्न आग्रह गरिएको छ ।
यस्तै मदिरा तथा मदिराजन्य पदार्थको बिक्री वितरण राती ९ बजेसम्म प्रचलित कानुन अनुसार अनुमति प्राप्त व्यवसायीले मात्रै गर्न पाउने सूचनामा उल्लेख गरिएको छ । पटका, आतसबाजी लगायतका विस्फोटक पदार्थहरूको उत्पादन, आयात, संचय, बिक्री वितरण र प्रयोग नगर्न, जुवा, तास, कौडा सट्टेबाजी लगायतका जुवाजन्य नखेल्न र कानुनले निषेध गरेका कुनै प्रकारका कार्यहरु नगर्न सूचनामा भनिएको छ ।
यस्तै मेला, महोत्सव, प्रदर्शनी आदि स्थानीय प्रशासनको स्वीकृति लिई तोकिएका सर्तहरूको पालना गरेर मात्रै सञ्चालन गर्न भनिएको छ । अत्यावश्यक वस्तुहरुको कृत्रिम अभाव सृजना गर्ने, अस्वाभाविक मूल्य वृद्धि गर्ने, म्याद नाघेका, गुणस्तरहीन र अखाद्य सामग्री बिक्री वितरण गर्ने, अवैध चोरी निकासी गर्ने, आपूर्तिमा अवरोध पु¥याउने कार्य नगर्न, सवारी साधनमा स्वीकृत सिट क्षमताभन्दा बढी यात्रु चढाउने, बढी भाडा नलिन प्रशासनले आग्रह गरेको छ । सूचनामा उल्लेखित विषयहरुको पालना नगरे प्रचलित कानुन अनुसार कारबाही हुने प्रशासनले जनाइएको छ ।
प्लास्टिकका फूलगुच्छा तथा मालामा प्रतिबन्ध
यस्तै जिल्ला प्रशासन कार्यालय धादिङले प्लास्टिकजन्य फूलगुच्छा तथा मालाको प्रयोग नगर्न अनुरोध गरेको छ । पछिल्लो समय दीपावली, मेला महोत्सव तथा अन्य सभा समारोहहरूमा प्लास्टिकजन्य फूलगुच्छा, माला लगायतका सामग्रीहरूको प्रयोग हुने गर्दा यसले वातावरण प्रदूषण हुने, स्थानीय कृषकहरुबाट उत्पादित फूलले बजार नपाउने तथा ठूलो धनराशि बाहिरिने भएकाले प्रयाग नगर्न आग्रह गरेको हो ।

























