चितवन विशेष

इच्छाकामना, मनकामना, त्रिवेणी र छिम्केश्वरीलाई समेटेर धार्मिक गन्तव्यका रुपमा विकास गर्न जोड

Banner

चितवन, कात्तिक २२-

मनकामना देवी र सोहदर दिदीबहिनी मानिने गोरखाको त्रिवेणी, तनुहँको छिम्केश्वरी र चितवनको इच्छाकामनालाई समेटेर एकीकृत धार्मिक गन्तव्यका रुपमा विकास गर्नुपर्नेमा जोड दिइएको छ । चार धामलाई एकीकृत धार्मिक गन्तव्यका रुपमा विकास गर्नका लागि स्थानीय अगुवाहरुले अभियान नै सुरुवात गरेका हुन् ।

अभियानअन्तर्गत मङ्गलबार गोरखाको सहिद लखन गाउँपालिका–३ स्थित त्रिवेणी भगवतीदेवी मन्दिरको प्राङ्गणमा स्थानीय राजनीतिक दलका प्रतिनिधि, जनप्रतिनिधि, मन्दिर समितिलगायतको उपस्थितिमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा बागमती प्रदेशका सांसद कृष्णप्रसाद सिलवालले धार्मिक पर्यटकीय सम्भावना रहेका इच्छाकामना, त्रिवेणी र छिम्केश्वरीमाइ प्रचारप्रसारको अभावमा ओझेलमा परेका बताउनुभयो । मनकामनामा दैनिक दशौँ हजार दर्शनार्थी पुग्ने गरे पनि प्रचारप्रसारको अभावमा कान्छी बहिनी त्रिवेणी भगवतीदेवीको मन्दिर ओझेलमा परेको बताउँदै उहाँले प्रचारप्रसारका लागि यस धार्मिकस्थलको बारेमा कलम चलाउन पत्रकारलाई आग्रह गर्नुभयो ।

धार्मिक गन्तव्य निर्माण गर्ने अभियान सुरु भएको जनाउँदै सिलवालले यसले सार्थकता आउन दशौँ वर्ष लाग्ने बताउनुभयो । यी चार धामको भौतिक संरचना निर्माणका लागि परिकल्पनासहित योजना लिएर आउन आग्रह गर्दै उहाँले आफूले प्रदेश, केन्द्र सबै ठाउँमा पहल गर्ने प्रतिबद्धता जनाउनुभयो ।

“हिन्दू धर्मालम्बीको प्राचीनग्रन्थ पुराणको हिमबत् खण्डमा उल्लेख भएअनुसार भगवान शिवले त्रिशूल रोप्दा मूल उत्पन्न भई सिर्जना भएका त्रिशूली, नदी र गणेश हिमालको काखबाट बगेको र ती सबै मस्र्याङ्दी नदीको पवित्र मिलन बिन्दु मुग्लिन बेनीमा रहेको छ”, अभियानका संयोजक रामबहादुर लामाले भन्नुभयो । उहाँका अनुसार गोरखा जिल्लामा पर्ने प्रसिद्ध त्रिवेणी भगवती, मनकामना मन्दिर, चितवनको इच्छाकामना गाउँपालिकामा पर्ने इच्छाकामना मन्दिर र तनहुँको छिम्केश्वरी मन्दिरलाई एकआपसमा जोडी धार्मिक गन्तव्यका रुपमा विकास गर्नको लागि नागरिकस्तरबाट प्रयास चालिएको हो ।

चितवनको इच्छाकामना गाउँपालिकाका पूर्व उपाध्यक्ष कृतिकुमार श्रेष्ठले इच्छाकामना मन्दिरसम्म पुग्ने मोटरबाटो स्तरोन्नती ,खानेपानीको व्यवस्था, मन्दिर निर्माणलगायत अन्य भौतिक संरचना निर्माण गरेपनि सोचे जस्तो दर्शनार्थी नआएको बताउनुभयो । उहाँले मनकामनामा आउने धार्मिक पर्यटकलाई इच्छाकामना, त्रिवेणी र छिम्केश्वरीसम्म पु¥याउनका लागि प्रचारप्रसार गर्नुपर्नेमा जोड दिनुभयो ।

गोरखाको सहिद लखन गाउँपालिका–३ का वडाध्यक्ष दीपक पाण्डेले चार धामलाई धार्मिक गन्तव्यका रुपमा विकास गर्न प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले यस अभियानमा जनप्रतिनिधि, स्थानीय सबै लाग्नुपर्नेमा जोड दिनुभयो ।

त्रिवेणी मन्दिर संरक्षण समितिका अध्यक्ष सूर्य गुरुङ, इच्छाकामना मन्दिर संरक्षण समितिका अध्यक्ष रामप्रसाद बोहोरा, इच्छाकामना उद्योग वाणिज्य सङ्घ मुग्लिनका अध्यक्ष कल्याण गुभाजु, उद्योग वाणिज्य सङ्घ मनकामना बजार इकाइका अध्यक्ष हरिकुमार श्रेष्ठले तिनै तहका सरकारलाई धार्मिक गन्तव्यका रुपमा विकास गर्नका लागि दबाब सिर्जना गर्न आवश्यक बताउनुभएको थियो । यहाँका धार्मिक महत्वबारे प्रचारप्रसार गर्नुपर्नेमा उहाँहरुले जोड दिनुभएको थियो ।

मनकामनामा दैनिक दशौँ हजार दर्शनार्थी पुग्ने गरेपनि कान्छी बहिनी त्रिवेणी भने ओझेलमा परेको सहभागीले बताएका छन् । त्रिवेणी भगवतीको जल अर्पण गरे पश्चात मात्र मनकामना देवीको पूजाको पूर्णता हुने धार्मिक पराम्परा रहिआएको छ । वर्षको मुख्य गुठीपूजा गर्दा मनकामना मन्दिरमा त्रिवेणी देवीबाट लगेको जल अनिवार्य रुपमा अर्पण गर्ने गरिन्छ । मनकामना, त्रिवेणी, छिम्केश्वरी र इच्छाकामना दिदीबहिनी रहेको किबंदन्ती छ । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>