देश/प्रदेश

गोरु पाइन छोड्यो, हाते ट्र्याक्टरको भरमा किसान

Banner

म्याग्दी, कात्तिक १७-

कृषिमा आधुनिकीकरण र युवा जनशक्ति विदेश पलायनका कारण ग्रामीण क्षेत्रमा खेतबारी जोत्न र दाइँ गर्नका लागि गोरु पाल्ने चलन हट्दै गएको छ । त्यसको ठाउँमा दाइँ लगाउन पनि हाते ट्र्याक्टरको प्रयोग बढ्न थालेको छ ।

म्याग्दीका ग्रामीण क्षेत्रमा पछिल्लो समय परम्परादेखि नै चल्दै आएको गोरुको सहायताले दाइँ लगाउने प्रचलन लोप हुने अवस्थामा पुगेको छ । गाउँघरमा गाईगोरु पाल्नेहरु घटेसँगै प्रविधिको प्रयोग बढ्दै गएको बेनी नगरपालिका–२ खबराका अगुवा किसान चन्द्रबहादुर कार्कीको भनाइ छ ।

दाइँ गर्नका लागि डम्मरा र चुत्रेनीसम्म पुगग्दा पनि गोरु नपाइएपछि ट्र्याक्टर प्रयोग गरिएको बेनी नगरपालिका–२ बगरफाँटका किसान तोपबहादुर जिसीले बताउनुभयो । जिसी मात्रै होइन म्याग्दीका धेरै किसानले खेतबारी जोत्नदेखि लिएर धान पराल गर्न र अन्य कृषि कार्यमा समेत अहिले कृषि औजारको प्रयोग गर्न थालेका छन् ।

बगरफाँटका किसान टेकबहादुर कार्कीले भन्नुभयो, “गोरु पाल्नै छोडे, धान झाँटेपछि दाइँ पराल गर्नै प¥यो, एक घण्टाको रु आठ सय तिरेर ट्र्याक्टर प्रयोग गरी दाइँ गरेँ ।”

गाउँघरमा पहुँचवालाहरुले सरकारी अनुदानमा ल्याएका कृषि उपकरणहरुको वास्तविक किसानसँग महँगो शुल्क लिएर काम गरिदिने गरेका किसान खड्गबहादुर थापाले गुनासो गर्नुभयो । हाते ट्र्याक्टर प्रयोग गरी एक घण्टा जोतेको वा दाइँ गरेको ट्र्याक्टर मालिकले रु आठ सय लिने गरेको उहाँले सुनाउनुभयो । पछिल्ला चार वर्षयता म्याग्दीमा पनि धान स्याहार्न हाते ट्र्याक्टर, ट्र्याक्टर र थे्रेसरको प्रयोग बढेको बगरफाँटका अर्का कृषक क्षेत्रबहादुर केसीले बताउनुभयो ।

गोरु नै पाइन छोडेपछि अहिले दाइँ लगाउने प्रचलन पनि हराउँदै गएको ८८ वर्षीय बेदप्रसाद उपाध्यायले बताउनुभयो । “पराल र धान स्याहार्न खलो वरिपरि मान्छे हुन्थे, मियो वरिपरि पाँच÷सातवटा गोरु घुमाएर रातभर दाइँ गरिन्थ्यो, अहिले ती सबै कुरा सम्झना मात्रै भए”, उहाँले भन्नुभयो ।

पहिले हरेक घरमा कृषि कामको सहायताका लागि गाईगोरु पाल्ने चलन थियो तर अहिले उक्त चलन हराउँदै गएको मङ्गला–५ छिसबाङका किसान प्रेमबहादुर पुनले बताउनुभयो । म्याग्दी पहाडी क्षेत्र भएकाले खेतबारीका फोहोटाहरुमा पनि प्रयोग गर्न सकिने हाते ट्र्याक्टर किसानले प्रयोग गर्ने गरेका कृषि ज्ञान केन्द्र म्याग्दीले जनाएको छ । कृषि प्राविधिक जगत बानियाँले गाउँ छिटो र सजिलोका लागि जोत्नका लागि ट्र्याक्टर, सडकको पहुँच नपुगेको स्थानमा हाते ट्र्याक्टरको प्रयोग बढेको बताउनुभयो । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>