राजनीति
देशबाट भाग्नुपर्ने स्थिति आउनुभन्दा अगाडि नै नयाँ सम्झौता गरौँः लिङदेन

काठमाडौ,असोज २०-
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले संघीयता देशका निम्ति आवश्यक नभएको बताएका छन् । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले यस्तो बताएका हुन् । उनले संघीयतालाई अब घिसारेर लैजान नसकिने भन्दै रक्तपात र दबाबबिना सल्लाह गरेर राजतन्त्र पुनःस्थापना गर्न राजनीतिक दलहरूलाई आग्रह गरे । नयाँ सहमति नगरे र दलहरू नसच्चिए अब जनदबाबको आँधीबेरीको तयारी राप्रपाले गर्ने उनले बताए ।
दलका नेताहरूलाई देशबाट भाग्नुपर्ने स्थिति आउनुभन्दा अगाडि सच्चिन चेतावनी दिए । राप्रपाले देशको नेतृत्व नगरेसम्म यहाँ गरिखाने वातावरण सिर्जना नहुने उनको भनाइ छ । उनले दसैँतिहार सकिएपछि आन्दोलनको आँधीबेरी सिर्जना गर्ने गरी अघि बढ्न पार्टीका नेता–कार्यकर्तालाई निर्देशन दिए ।
“यो अभ्यासको डेढ दशकभन्दा बेसी समयले बतायो– संघीयता देशको लागि आवश्यक चिज होइन । अब यही चिजलाई घिसारेर लैजान सकिँदैन भन्ने कुरा तपाईंहरूलाई पनि थाहा छ । त्यसकारण रक्तपातबिना, दबाबबिना, तपाईंहरूले भाग्नुपर्ने परिस्थिति नआईकनै सल्लाह गरेर मिलाऊँ । र, बाटो फेरौँ । र, नयाँ सहमति बनाऔँ,” उनले भने, “आज पनि भन्न चाहन्छु– यदि, यो दलहरूमा अलिकति मात्रै पनि बुद्धि बाँकी छ, देशप्रति प्रेम अलिकति मात्रै पनि छ भने अब नयाँ सम्झौतामा जानुपर्छ । नयाँ व्यवस्थामा जानुपर्छ । देशलाई दुर्घटनामा जान दिनु हुँदैन । होइन, दलहरू सच्चिँदैनन् र उनीहरू नयाँ सम्झौताको लागि तयार हुँदैनन् भने अब जनदबाबको आँधीबेरीको तयारी गर्ने राष्ट्रिय प्रजातन्त्र पार्टीको दायित्व हुन्छ, तपाईं–हाम्रो हुन्छ । देशको यो अवस्थामा हामी मूकदर्शक भएर बस्न सक्दैनौँ ।



























