चितवन विशेष

चितवनका ‘पुष्पा र अञ्जली’लाई असाेज १० गते कोशी टप्पु लगिँदै

Banner

सुनिता सुवेदी

चितवन, असाेज ६-

चितवन राष्ट्रिय निकुञ्जका गैँडाका दुई केटी पुष्पा र अञ्जलीलाई कोशी टप्पु वन्यजन्तु आरक्ष लैजाने तयारी भएको छ । पुष्पा र अञ्जली निकुञ्जको राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटिएनसी)मा रहेर हुर्किएका गैँडाका केटीहरू हुन् । उनीहरुलाई आमाबाट छुट्टिएर अनाथ भएको अवस्थामा पुष्पालाइ अन्दाजी दुई र अञ्जलीलाइ एक महिनाको उमेरमा उद्धार गरिएको थियो ।

वन तथा वातावरण मन्त्रालयको निर्णय अनुसार आगामी असोज १० गते पुष्पा र अञ्जलीलाई कोशी टप्पु वन्यजन्तु आरक्षमा लैजाने तयारी भइरहेको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेश प्रसाद तिवारीले जानकारी दिए । कोशी टप्पुमा हालसम्म कुनैपनि गैँडा छैनन् । कोशीटप्पुको सप्तरी जिल्ला नजिकै पर्ने ‘सप्तरी सेक्टर’ मा ‘पुष्पाञ्जली’लाई राख्ने तयारी भइरहेको तिवारीले जानकारी दिए ।

पुष्पा र अञ्जलीलाई २०८० साल वैशाख ३१ गते प्राकृतिक वासस्थानमा छाडिएको थियो । उक्त समयमा पुष्पाको उमेर ३ वर्ष ४ महिना र पूजाको उमेर २ वर्ष १ महिना पुगेको निकुञ्जका सूचना अधिकारी तिवारीले जानकारी दिए । उनका अनुसार हाल पुष्पाको उमेर ३ वर्ष ८ महिना र पूजाको उमेर २ वर्ष ५ महिना पुगेको छ ।

तिवारीका अनुसार राष्ट्रिय प्रकृति संरक्षण काेष, जैविक विविधता संरक्षण केन्द्र साैराहामा मानिसहरुसँग घुलमिल भएर बसेका पुष्पाञ्जली अहिले पनि बारम्वार बस्तीमा निस्किरहन्छन् । ‘जंगलमा रहेका अन्य गैँडाभन्दा पुष्पाञ्जलीलाई नै पहिले उक्त ठाउँमा लैजाने तयारी भएको छ,’ उनले भने, ‘मानव बस्तीमा बारम्बार निस्किने भएकाले प्राकृतिक बासस्थानमा बसेका गैँडालाई भन्दा उनीहरुलाई लैजाने मन्त्रालयले निर्णय गरेको हो ।’

कोशी टप्पु वन्यजन्तु आरक्षमा ‘पुष्पाञ्जली’ लाई राख्ने खोर तयारी अवस्थामा रहेको उनले जानकारी दिए । ‘पुष्पाञ्जलीलाई सुरुमा लगेर खोरमा राखिनेछ, उनले भने, केहि समयपछि वातावरण अनुकुल भएपछि प्राकृतिक वासस्थानमा छाड्ने तयारी छ।’ यसअघि कोशी टप्पुबाट चितवन राष्ट्रिय निकुञ्जमा १३ वटा अर्ना ल्याइएको थियो । उक्त अर्नाहरु निकुञ्जमा बाँच्न नसकेपछि अहिले चितवन राष्ट्रिय निकुञ्जमा अर्नाको संख्या शून्य छ।

फाइल फाेटाे

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>