Breaking News
भरतपुरको पुलचोक–गोन्द्राङ सडक विस्तारमा ढिलाइ, काम छिटो सक्न व्यवसायीको माग

चितवन, भदौं १३–
चितवनका उद्योगी व्यवसायीले नारायणगढको पुलचोक–गोन्द्राङ छ लेन सडक विस्तार छिटो सम्पन्न गर्न माग गरेका छन् ।
विस्तारको काम सयमा नसकिँदा व्यापार चौपट भएपछि उद्योग वाणिज्य संघ चितवनको नेतृत्वमा विभिन्न सरकोकारवाला निकायहरुको ध्यानाकर्षण गरेका हुन् ।
पूर्व–पश्चिम राजमार्गअन्तर्गतको भरतपुर महानगरपालिकाको पुलचोक–गोन्द्राङ छ लेन सडकखण्डको काम ७० प्रतिशत मात्र सकिएको छ । निर्धारित समय सकिएर थप गरिएको छ महिना बितिसक्दा पनि काममा ढिलाइ भएपछि बजारका व्यवसायी चिन्तामा परेका छन् । विसं २०७७ असोज २७ गते सम्झौता भई निर्माण सुरू गरिएको उक्त सडकखण्डको विसं २०७९ माघसम्ममा काम सम्पन्न गर्ने गरी सम्झौता भएकामा उक्त समयमा निर्माण सम्पन्न नभएपछि आगामी मङ्सिरसम्मका लागि समय तोकिएको छ । तर, समयमा काम सकिने छाँटकाँट नदेखिएपछि व्यवसायीहरु विभिन्न सरोकारवाला निकायसम्म पुगेर ध्यानाकर्षण गराएका हुन् ।
उद्योग वाणिज्य संघले भरतपुर महानरपालिका, जिल्ला प्रशासन कार्यालय र सडक विभागमा ध्यानार्कषण गराएको छ । संघले भरतपुर महानगरपालिका नगर प्रमुख रेनु दाहाल, जिल्ला प्रशासन कार्यालयको सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्मा र सडक विभागका सूचना अधिकारी चण्डेश्वर साहलाई ध्यानार्कषण पत्र हस्तान्तरण गरेको छ ।
चितवन जिल्लाकै मुख्य व्यापारिक केन्द्र पर्ने भरतपुरको पुलचोकदेखि गोन्द्रयाङसम्म सडक विस्तार गर्न धेरै लामो समय लागेकाले उक्त क्षेत्रका व्यवसायी, उपभोक्ता र आम सर्वधारण जनताले सास्ती खेप्दै आउनुका साथै ठूलो आर्थिक नोक्सानी व्यवसायीहरुले व्यहोर्नु परेको ध्याकर्षणपत्रमा उल्लेख गरिएको छ ।

व्यवसायीहरु गएका वर्षदेखिको कोभिड–१९ तत्त पश्चात सिर्जित विषम परिस्थिति र चरम बढ्दो आर्थिक मन्दीको सामना गरिरहेका उद्योगी व्यवसायीहरुले पनि आउँदै गरेको नेपालीहरुको महान चाडपर्व दसैँ, तिहार र छठ पर्वमा आफ्नो व्यपार व्यवसाय हुने आशमा बसिरहेका हुनाले सो सडक निर्माण कार्य यथासक्य छिटो सम्पन्न गराई व्यवसायिक वातावरण सृजना गराउन पहल गरिएको छ ।
भरतपुर महानगरपालिकाले आयोजना गर्न लागेको भरतपुर भम्रण वर्ष–२०२४ सफलताका साथ सम्पन्न गर्न समेत उक्त सडक निर्माणका यथासक्य छिटो सम्पन्न गर्नुपर्ने पत्रमा उल्लेख गरिएको छ ।
ध्यानार्कषण पत्र हस्तान्तरण कार्यक्रममा उद्योग वाणिज्य संघ–चितवनका अध्यक्ष चुननारायण श्रेष्ठ, निवर्तमान अध्यक्ष राजु श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष सुमनकुमार श्रेष्ठ, प्रथम उपाध्यक्ष चिरञ्जीवी सुवेदी, तृतीय उपाध्यक्ष सिरिष पन्तलगायत संघका कार्यसमिति सदस्य, वस्तुगत संघका अध्यक्ष एवम् प्रतिनिधिहरुको उपस्थिति रहेको संघका कार्यक्रम अधिकृत गणेश सुवेदीले नारायणी अनलाइनलाई जानकारी गराए ।
अहिले गोन्द्राङ्देखि भरतपुर महानगरपालिकाको गेट अगाडिसम्म पहिलो चरणको काम भइरहेको छ भने लयायन्सचोकदेखि पुलचोकसम्मको काम सम्पन्न भइसकेको छ । सर्भिस लेन र फुटपाथको काम बाँकी रहेको छ ।
























