राजनीति
हामीलाई राष्ट्रिय पार्टी होइन भनेर सर्वदलीय बैठकमा बोलाउँदा पनि बोलाएनन्ः माधव नेपाल

काठमाडौं, भदौ ९-
नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले आफूहरूलाई संसदमा अपहेलना गरेकोमा गुनासो पोखेका छन्। शनिबार पार्टी निकट अनेरास्ववियूको स्थायी कमिटी बैठकमा बोल्दै उनले ६० किलो सुन प्रकरणको छानबिन समिति बनाउने सर्वदलीय बैठकमा सहभागी नगराएर हेला गरिएकोमा गुनासो पोखेका हुन्।
‘हिजो संसदमा अरू सबै पार्टी हुन्छ तर, हामी हुँदैनौं भनेर उपस्थिति हुन दिएनन्। सुन काण्डमा भएको छानबिन समिति बनाउने बैठकमा अरू सबै ६ वटा पार्टी बसे तर, राष्ट्रिय मान्यता प्राप्त गरेको छैन भनेर हामीलाई बोलाउँदा पनि बोलाएनन्। हामी सोचिरहेका छौं हामी पनि केही गर्नुपर्छ। धेरै भलाद्मी पाराले हुँदो रहेनछ। घिउ निकाल्न औंला बाङ्गो नगरी नहुँदो रहेछ,’ उनले भने।
‘मैले प्रचण्डजीलाई पुरानो नेकपालाई ब्यूँताउ, संकीर्ण नबनौं भनेर अोली कहाँ प्रस्ताव पठाएँ। केपी ओलीले राष्ट्रपति पद पाउनका लागि मसँग भेट्न खोजे तर मलाई प्रस्ताव राखेनन्। अहिले के भन्छन्– मैले प्रस्ताव राखेको थिएँ। राखेकै थिएनन्।
प्रस्तावलाई मलाई स्वीकार गरेको भए देउवाकहाँ जान्थ्यो माधव नेपालले धोका दिँदैछन्। सबैकुरा विचार नगरी कतिपय कमरेडहरू भन्छन्– राष्ट्रपति पाएको छोडिदिनुभयो,’ उनले भने।



























