राजनीति

रेशम चौधरीद्धारा टीकापुर घटनामा मारिएका बालकको सालिक अनावरण

Banner

 धनगढी, भदौ ७-

८ वर्ष अघि आजकै दिन थरुहट–थारुवान र अखण्ड सुदूूरपश्चिम आन्दोलनका क्रममा भएको हिंसात्मक घटनामा मारिएका २ वर्षका बालक टेकबहादुर साउदको सालिक अनावरण गरिएको छ ।

टीकापुर घटनाको मुख्य योजनाकारको अभियोगमा दोषि ठहर भइ अदालतले जन्मकैदको फैसला सुनाए पनि राष्ट्रपतिबाट कैद मिनाह पाएका रेशमलाल चौधरीले साउदको सालिक अनावरण गरेका हुन् ।

टीकापुर घटनाको ८ वर्ष पुगेको दिन पारेर मृतक साउदको स्मृतिमा बिहीबार सालिक अनावरण गरिएको हो ।

नागरिक उन्मुक्ति पार्टीका संरक्षक समेत रहेका रेशमलाल र टेकबहादुर साउद स्मृति प्रतिष्ठानले संयुक्त रूपमा सालिकको स्थापना गरेको थियो ।

सालिकको रेशमलालसहित नाउपाकी अध्यक्ष तथा भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री रन्जिता श्रेष्ठ, टेकबहादुर साउदका बाजे जंग साउद र बुवा आमाले संयुक्त रूपमा अनावरण गरे । सालिक अनावरण गर्दै नाउपाका संरक्षक रेशमलालले टीकापुर घटनामा मारिएका नाबालक टेकबहादुर साउद आफ्नो पनि बच्चा भएको बताए ।

८ वर्ष अघि आजकै दिन थरुहट–थारुवान र अखण्ड सुदूूरपश्चिम आन्दोलनका क्रममा भएको हिंसात्मक घटनामा नाबालक साउद, नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) लक्ष्मण न्यौपानेसहित ८ जनाको हत्या भएको थियो ।

घटनाका मुख्य योजनाकारको अभियोग लागेका रेशम चौधरीसहितका ११ जनालाई जिल्ला अदालत कैलालीले २२ फागुन २०७५ मा जन्मकैदको सजाय सुनाएको थियो ।

उच्च अदालत दिपायलले सदर गरेको जिल्लाको फैसलाविरुद्ध रेशम चौधरी सर्वोच्च अदालत पुगेका थिए, सर्वोच्च अदालतले गत २ जेठमा जिल्ला र उच्च अदालतको फैसला सदर गरेको थियो । चौधरीलाई सरकारको सिफारिसमा गणतन्त्र दिवसको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले बाँकी सजाय माफी दिएपछि उनी छुटेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>