राजनीति
माओवादीको रुपान्तरण ल्हारक्यालको नियुक्तिबाट सुरु भएछ : लेखनाथ न्यौपाने

काठमाडौं, साउन २२-
सरकारले लुम्बिनी विकास कोषको उपाध्यक्षमा डाक्टर ल्हारक्याल लामालाई नियुक्त गरेपछि सत्तारुढ दल नेकपा माओवादी केन्द्रभित्र असन्तुष्टि चुलिन थालेको छ।
माओवादी केन्द्रीय सदस्य लेखनाथ न्यौपानेले हिजो भएको पार्टी बैठकको निर्णय स्मरण गराउँदै ल्हारक्यालको नियुक्तिप्रति कटाक्ष गरेका छन्।
‘रुपान्तरण अभियानको उद्घाटन भदौ १६ मा गर्ने निर्णय थियो तर बैठक सकिएकै दिन लुम्बिनीबाट सुरु भइसकेछ’ उनले सामाजिक सञ्जालमा लेखेका छन्।
मन्त्रिपरिषद्को बैठकले विवादित लामालाई ५ वर्षे कार्यकालका लागि विकास कोषको उपाध्यक्ष नियुक्त गरेको निर्णय आइतबार सार्वजनिक भएको थियो।
विवादास्पद छविका ल्हारक्याल दोहोरो नागरिकता, भारतीय रासनकार्ड/राहदानी, तिब्बती शरणार्थी परिचयपत्र, वैदेशिक रोजगारीका नाममा ठगी र अकुत सम्पत्तिमात्र होइन, बैंकको लकरमा बन्दुकका गोली राखेको आरोपमा पनि पक्राउ परेका थिए।



























