फुटबल
साफ यू–१६ च्याम्पियनसिपका लागि गण्डकीबाट ४५ खेलाडी छनोट

पर्वत, साउन १०–
साफ यू–१६ च्याम्पियनसिप –२०२३ का लागि गण्डकी प्रदेशबाट ४५ खेलाडी छनोटमा परेका छन्।
दक्षिण एसियाली फुटबल महासंघ (साफ) को कार्यक्रम अनुसार आउँदो भदौ १५ देखि २५ गतेसम्म मित्र राष्ट्र भुटानमा आयोजना हुने च्याम्पियनसिपमा जान निर्माण गरिने टिमका लागि गण्डकी प्रदेशबाट खेलाडी छनोट गरिएको हो।
अखिल नेपाल फुटबल संघ ९एन्फा० ले साफ च्याम्पियनसिपका लागि यु–१६ राष्ट्रिय टोली छनोटका लागि जिल्ला र प्रदेश छनोट गरिरहेको छ। सोही छनोटअन्तर्गत गण्डकीमा जिल्ला लगत्तै प्रदेश छनोट सम्पन्न भएको हो। नौ जिल्लाको सहभागिता रहेको प्रदेश छनोटमा कुल २१८ जना खेलाडीको सहभागिता रहेको गण्डकी प्रदेश फुटबल संघका महासचिव विनोद गुरुङले बताए। उनका अनुसार तनहुँबाट ४३, बागलुङबाट २५, स्याङ्जाबाट २३, पर्वतबाट २५, मनाङबाट दुई, गोर्खाबाट ३२, नवलपुरबाट ३० र लमजुङबाट १६ खेलाडीको सहभागिता थियो।
गोर्खाबाट असीम गुरुङ, अङ्कित अधिकारी, दिलबहादुर नेपाली, कुशल गुरुङ, नवीन सुनार, नीराजन श्रेष्ठ, रोशिक पौडेल र समीर तामाङ, स्याङ्जाबाट अज्जवल रेग्मी, सुस्विन थापा मगर, सफल गुरुङ र अमृत कुमाल र कास्कीबाट आकृष्ट महत, आशिष गुरुङ, अरुण विक, अश्विन विक, गिरी मगर, कुञ्जन पौडेल, मिजास केसी, निर्मल चोचाङ्गी, सुभरत थापा र सभोग सुवेदी छन्। यस्तै पर्वतबाट सुशान्त थापा र नितेश श्रेष्ठ, नवलपरासी ९बर्दघाट सुस्तापूर्व० बाट आशिष तामाङ, अशोक थापा मगर, अभिषेश कुँवर क्षेत्री, विश्व कुमार, गणेश विक, मानबहादुर तामाङ, सौगात महत, सुजल मल्ल सुन्दर पुलामी र सुशील वि।क। छनोट भएका छन्। यस्तै तनहुँबाट सुमित कुँवर, रोशन थापा, दिवस सुनार, एयोन राना र विकल तिमिल्सिना, लमजुङबाट असीम नेपाली, विपिन तामाङ, मनोज वि।क। र प्रजय गुरुङ, बागलुङबाट सक्षम बोहोरा तथा मनाङबाट निजम गुरुङ छनोटमा परेका छन्।
कास्की फुटबल संघले भने ‘इगो’ का कारण प्रदेश छनोटमा सहभागिता नजनाउने भए पनि चौतर्फी दबाबका दिन छनोटको अन्तिम दिन सहभागिता गराएको थियो। खेलाडी आफैँ छनोट प्रक्रियामा सामेल भएपछि बाध्य भएर कास्कीले सहभागिता जनाएको हो। कास्कीबाट २२ खेलाडीको सहभागिता रहेको थियो। छनोटमा खेलाडी सहभागिता नगराएका कारण प्रदेश खेलकुद परिषद्ले जिल्ला खेलकुद विकास समितिमार्फत कास्की जिल्ला फुटबल संघका अध्यक्ष उज्ज्वल रञ्जितसँग स्पष्टीकरण मागेको थियो।
रञ्जितले छनोट खेलको बारेमा कुनै जानकारी नै नभएको भन्दै खेलाडी सहभागिता नगराएको बताएका थिए। उनले प्रदेशले टिम सहभागिताका लागि पत्राचार गरे पनि छनोटमा कास्कीका कसैलाई पनि जिम्मेवारी नदिएको भन्दै गुनासो गरेका थिए। पोखरामा छनोट चल्दा जिल्लासँग समन्वय हुनुपर्ने उनको माग थियो।
कास्कीका खेलाडीलाई सिधै केन्द्रमा नै छनोटमा सहभागी गराउने बताए पनि केन्द्र र प्रदेश परिषद्को दबाब पछि रञ्जित पछि हटेको एक पदाधिकारीले बताएका छन्। कास्कीले ‘इगो’ मात्र देखाएन खेलाडी छनोटमै समेत कास्कीबाट २२ खेलाडीमध्ये चार खेलाडीको उमेर बढी भएकाले फालिएका छन्। तीमध्ये तीन जना छनोटमा सहभागी नै भएनन्। उनीहरूको उमेर तोकिएको मापदण्डभन्दा बढी भएकाले सहभागी नभएका हुन्।
छनोट खेल संयोजक मिलन गुरुङका अनुसार छनोट चरण निकै राम्रो भएको छ। पोखरा रंगशालामा भएको छनोटको मुख्य प्रशिक्षक किरण श्रेष्ठ रहेका थिए। उनको टिमले नै खेलाडी छनोट गरेको थियो। अब प्रदेश छनोटमा परेका खेलाडीको अन्तिम छनोट काठमाडौंमा हुने छ। काठमाडौंमा छनोट भएपछि नेपाली यू–१६ पुरुष राष्ट्रिय टोली घोषणा गरी बन्द प्रशिक्षणमा राखिने छ।
























