देश/प्रदेश

बारामा तीनवटा सवारीसाधन एकआपसमा ठोक्किँदा १० जना घाइते

०
Banner

बारा,कात्तिक १३ –

बाराको जितपुर सिमरा उपमहानगरपालिका–२१ स्थित हेटौँडा–पथलैया सडकखण्डमा डिजेल बोकेको ट्यांकर, हाइस र मोटरसाइकल एकआपसमा ठोक्किँदा १० जना घाइते भएका छन् ।

नेपाल प्रहरीका अनुसार नेपाल आयल निगमको अमलेखगन्जस्थित डिपो नजिक शुक्रबार (कात्तिक १३ गते) दिउँसो करिब १२ बजे दुर्घटना भएको हो ।

अमलेखगन्जबाट जनकपुरतर्फ जाँदै गरेको ना.४ ख २३४९ नम्बरको डिजेल बोकेको ट्यांकरमा वीरगन्जबाट हेटौँडातर्फ आउँदै गरेको ग।२ ख १९९३ नम्बरको हाइस ठोक्किएको थियो । सोही हाइसको पछाडि धरानबाट हेटौँडातर्फ आउँदै गरेको अनटेस्ट मोटरसाइकल ठोक्किएपछि दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा ट्यांकर चालक, हाइस चालक, मोटरसाइकल चालक तथा हाइसमा सवार यात्रुहरू गरी १० जना घाइते भएका छन् ।

घाइते हुनेमा बारा जितपुर सिमरा उपमहानगरपालिका–१६ पिलुवाका ५० वर्षीय ट्यांकर चालक चेतनाथ खरेल, कास्की पोखरा महानगरपालिका–५ का ३८ वर्षीय हाइस चालक आशिष मल्ल, वीरगन्ज महानगरपालिका–२ की ४५ वर्षीया समिना खातुन र उनकी २५ वर्षीया छोरी सखीना खातुन रहेका छन् ।

त्यस्तै, जितपुर सिमरा उपमहानगरपालिकाकी २२ वर्षीया आशिका श्रेष्ठ, पोखरा महानगरपालिका–१८ साराङकोटका ४३ वर्षीय मनोज थापा क्षेत्री, धरान उपमहानगरपालिका–१६ का २४ वर्षीय मोटरसाइकल चालक सरोज गुभाजु, भारत बिहार राज्य पूर्वी चम्पारणका ७० वर्षीय नवल किशोर साह, बारा प्रसौनी गाउँपालिका–२ का २४ वर्षीय कुनिल पण्डित कुम्हार र भारत पश्चिम बंगाल हुग्लीकी २६ वर्षीया साबनी दास घाइते भएका छन् ।

प्रहरीका अनुसार दुर्घटनामा घाइते भएका सबैको अवस्था सामान्य रहेको छ । उनीहरूको अमलेखगन्जस्थित स्थानीय अक्कल बहादुर कार्की मेडिकल तथा नोभाकेयरमा उपचार भइरहेको छ ।

दुर्घटनापछि केही समय अवरुद्ध भएको सडक एकतर्फी सञ्चालन गरिएको थियो । दिउँसो १ः५५ बजेदेखि भने सडकमा दुईतर्फी यातायात सञ्चालनमा आएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा संलग्न तीनवटै सवारीसाधन नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय अमलेखगन्ज, बारामा राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>