खेलकुद
सुजित नायक बनेपछि चितवन गोल्डकपमा देवदहको फराकिलो जित

चितवन, भदौ २९-
सुजित बुढाथोकी नायक बनेपछि देवदह ब्वाईज रुपन्देही फराकिलो जित निकाल्दै हानामी तेस्रो चितवन गोल्डकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । आज (सोमबार) भएको खेलमा रेडहर्ष एफसी ईलामलाई हराउँदै देवदह सेमिफाइनलमा पुगेको हो ।
नेपाल प्रहरी शिक्षालय भरतपुर तालिमकेन्द्रको मैदानमा भएको एकतर्फी खेलमा देवदह ६-० ले विजयी भयो । देवदहको जितमा सुजित बुढाथोकी नायक बने । उनले ४ गोल गरे । यस्तै सुरज चौधरी र निरज थापाले एक-एक गोल गरे । ४ गोल गरेका सुजित केल्मी प्लेयर अफ दि म्याच बने ।
देवदहले अब पहिलो सेमिफाइनलमा आयोजक भरतपुर फुटबल क्लब बिएफसीको सामना गर्नेछ । बिएफसी यसअघि पहिलो खेलमा पाकक्षम फुटबल क्लब भुटानलाई ६-१ ले हराउँदै सेमिफाइनलमा पुगिसकेको छ ।
प्रतियोगितामा भोलि (मंगलबार) अन्तिम क्वाटरफाइनल खेल हुनेछ । अन्तिम क्वाटरफाइनलमा एपीएफ फुटबल क्लब काठमाडौं र एनपेनाङ मलेसिया भिड्नेछन् । खेल दिउँसो ४ बजे हुनेछ । ८ टोली सहभागी प्रतियोगिता असोज ३ गतेसम्म चल्नेछ । प्रतियोगिताको विजेताले ट्रफीसहित ६ लाख तथा उपविजेताले ३ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।
























