प्रवास

बोस्नियामा ईयू फोर्सको हेलिकोप्टर दुर्घटना: चार जनाको मृत्यु, ११ घाइते

०
Banner

काठमाडौँ,कात्तिक १३ –

बोस्निया–हर्जगोभिनामा युरोपेली संघको शान्ति मिसन (ईयूफोर) मा आबद्ध इटालियन सैन्य हेलिकोप्टर दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् ।

बिहीबार बोस्नियाको ब्रचको क्षेत्रमा नियमित सैन्य अभ्यासका क्रममा सीएच–४७ चिनुक हेलिकोप्टर दुर्घटनामा परेको ईयूफोरले जनाएको छ । दुर्घटनास्थल राजधानी सारायेभोबाट करिब १८० किलोमिटर उत्तरमा पर्छ ।

इटालीको रक्षा मन्त्रालयका अनुसार मृत्यु हुनेमा दुई सैनिक र रेडक्रसका दुई स्वयंसेवक छन् । हेलिकोप्टरमा सवार सबै इटालियन नागरिक रहेको इटाली सरकारले जनाएको छ ।

दुर्घटनामा सुरुमा तीन जनाको मृत्यु भएको थियो । घाइते १२ जनालाई अस्पताल पुर्‍याइएकोमा उपचारका क्रममा थप एक जनाको मृत्यु भएको ब्रच्को अस्पतालका प्रवक्ताले बताएका छन् । अन्य ११ जना घाइतेको अवस्था स्थिर रहेको र उपचार भइरहेको ईयूफोरले जनाएको छ ।

दुर्घटनाको कारण खुल्न सकेको छैन । ईयूफोरले घटनाबारे विस्तृत अनुसन्धान भइरहेको जनाएको छ ।

बोस्नियामा सन् २००४ देखि तैनाथ ईयूफोर मिसनमा एक हजारदेखि १५ सयसम्म सुरक्षाकर्मी छन् । सन् १९९५ मा बोस्निया युद्ध अन्त्य गर्ने डेटन शान्ति सम्झौताको कार्यान्वयनको निगरानी गर्नु यस मिसनको मुख्य जिम्मेवारी हो । एजेन्सी

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>